काठमाडौं नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको १४ औं महाधिवेशनबाट नेतृत्व परिवर्तन गर्न आवश्यक रहेको बताएका छन् ।शनिबार पार्टीको काठमाडौं महानगरपालिका अधिवेशनको उद्घाटन कर्यक्रममा उनले सभापति शेरबहादुर देउवालाई अवसर पाएर पनि काम गर्न नसकेको भन्दै कांग्रेस सुदृढ बनाउन नेतृत्व परिवर्तन गर्नुपर्ने धारणा राखे ।
‘लिडरसिप परिवर्तन गर्नुपर्छ यो महाधिवेशनमा पार्टीलाई शुद्धीकरण गर्न र सुदृढ गर्न । अवसर पाएर पनि काम गर्न नसक्नेलाई फेरि गुणगान भएर त्यही चाहिन्छ भन्नु कति सान्दर्भिक हुन्छ ? अब काँग्रेसको नेतृत्व परिवर्तन गर्नुपर्छ । नत्र भने राम्रो हुँदैन’ उनले भने ।
पार्टीको १४ औं महाधिवेशनमा पार्टी सभापतिमा आफ्नो पनि दावी रहेको नेता सिंहले बताए । आफू कुन कारणले सभापति पदमा अयोग्य छु भनेर कन्भिन्स गर्न पार्टी सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई आग्रह गरे ।
कार्यक्रममा बोल्दै कांग्रेस केन्द्रीय सदस्य गगन थापाले आगामी निर्वाचनमा कम्युनिष्टहरुसँग एक्लै चुनाव लडेर जित्ने तागतका साथ अघि बढ्न पनि काँग्रेस नेतृत्व परिवर्तन हुनुपर्ने बताए ।
कांग्रेसलाई जनताको भरोसायोग्य पार्टी बनाउन, सबै कम्युनिस्ट पार्टी मिलेर आउँदा पनि कांग्रेसले एक्लै निर्वाचन जित्ने गरी पार्टीलाई शुद्ध र सुदृढ बनाउन आफूहरु लागि परेको उनले बताए । ‘कोहीसँग मिलेर होइन सात कम्युनिष्ट एक भएर आयो भने पनि जित्ने तागतका साथ आगामी महाधिवेशनले नेतृत्व चयन गर्नुपर्ने हुन्छ । त्यसका लागि कांग्रेसलाई छोटो समयमा सुद्ध र सुदृढ गर्न आवश्यक हुन्छ’ उनले भने ।
नेता थापाले नेपाली जनताले भरोसायोग्य कांग्रेसको नेतृत्व चाहिरहेको पनि बताए । उनले मुलुकलाई कम्युनिष्टहरुको कहरबाट बचाउन पनि नेपाली कांग्रेसको पार्टी जीवनमा आमूल परिवर्तन गर्न आवश्यक रहेको दोहो¥याए ।