सिमकोट, मुगुको छायाँनाथ रारा नगरपालिकाले बस दुर्घटनामा मृत्यु भएका परिवारलाई जनही ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ।नगर प्रमुख हरिजंग शाहीले कार्यपालिकाबाट निर्णय गराएर बस दुर्घटनाका मृतकमध्ये नगरपालिका क्षेत्रका २७ जनाको घरपरिवारलाई जनही ५० हजार रुपैयाँ सहयोग गरिएको जानकारी दिए।
दुर्घटना पीडित एवं आश्रित परिवारका सदस्यलाई उक्त सहयोग गरिएको उनले बताए। मृतकका परिवारलाई हातहातमा सहयोग प्रदान गरिएको थियो। नगर प्रमुख शाहीले बाँकी पाँच जनाको शव जिल्ला बाहिर हेलिकोप्टरमा पठाउनु परेको कारण आर्थिक सहयोग नगरिएको बताए।
नेपालगञ्जबाट मुगु सदरमुकाम गमगढीका लागि जाँदै गरेको भे१ख ३१६७ नम्बरको बस मंगलबार दिउसो १ बजे छायाँनाथ रारा नगरपालिका– ७ को पिनागाउँ नजिक तपनी खोलामा दुर्घटना हुँदा ३२ जनाको ज्यान गएको थियो। सो दुर्घटनामा परी २४ जनाको घटनास्थलमै, ४ जनाको नेपालगञ्ज उद्धारका लागि ताल्चा विमानस्थलमा पुर्याउँदापुर्याउँदै विमानस्थलमा र ४ जनाको नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको थियो।
दुर्घटनामा परी मृत्यु हुनेमा २२ जना पुरुष र १० जना महिला रहेका थिए। दुर्घटनामा परी घाइते भएकामध्ये ११ जनाको नेपालगञ्ज मेडिकल कलेज र कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ। एक वर्षकी बालिका भूमिका खड्काको जिल्ला अस्पताल मुगुमा उपचार भइरहेको छ।
पाँच शव हेलिकोप्टरमार्फत नेपालगञ्ज
दुर्घटनामा परी मृत्यु भएकामध्ये पाँच जनाको शव नगरपालिकाले हेलिकोप्टर चार्टर गरेर नेपालगञ्ज पठाएको नगर प्रमुख शाहीले जनाए। ती शव परिवारको आग्रहमा नगरपालिकाले साढे चार लाखमा हेलिकोप्टर रिजर्भ गरेर पठाएको हो। नेपालगञ्ज पठाइएका शवमध्ये दुइटा नेपालगञ्जकै, दुइटा बर्दिया र एउटा मुगुको भए पनि बसाइसराई गरेर नेपालगञ्जमा बस्दै आएका व्यक्तिको हुन्।प्रमुख शाहीले दुर्घटनाका बेला उद्धारमा सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै पीडित परिवारलाई सहयोगका लागि प्रदेश र नेपाल सरकारसँग आग्रह गरेका छन्।