spot_img

एमालेको वडा नेतृत्व देशभर सर्वसम्मत

spot_img

काठमाडौँ, सत्ताबाट बहिर्गमन र पार्टी विभाजनको ‘धक्का’ खेपेको प्रमुख प्रतिपक्ष एमाले शनिबार देशैभर वडा नेतृत्व चयन गर्दै महाधिवेशनमा होमिएको छ । मंसिर १०–१२ मा चितवनमा १० औं महाधिवेशन गर्ने निर्णय गरेको एमालेले आधारभूत तहको कमिटीका अधिवेशनमार्फत पार्टी पुनर्निर्माण अभियान थालेको हो ।तत्कालीन वरिष्ठ नेताहरू झलनाथ खनाल र माधवकुमार नेपालको समूह बाहिरिएपछि संगठनात्मक क्षति व्यहोरेको एमालेले पार्टी पुनर्निर्माण र चुनावी तयारीलाई पहिलो कार्यसूची बनाएको छ ।

विधान महाधिवेशनको तीन सातापछि एमालेले बाढी प्रभावितबाहेक सबै वडामा एकै दिन नेतृत्व चयन गरेको छ । केन्द्रीय कार्यालय थापाथलीबाट शनिबार अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट देशभर वडा अधिवेशनको उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा ओलीले उन्नतस्तरको समझदारीका साथ वडा अधिवेशन हुने विश्वास व्यक्त गरेका थिए । केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङको दाबीअनुसार भर्चुअल माध्यमबाट अध्यक्षको सम्बोधनमा कम्तीमा पाँच लाख कार्यकर्ता सहभागी थिए ।

एमालेले देशभरका ६ हजार ७ सय ४३ वडामा एकैपटक अधिवेशन सक्ने तयारी गरे पनि बाढीपहिरो प्रभावित जिल्लामा रोकिएको छ । ‘६ हजारभन्दा बढी वडामा अधिवेशन सम्पन्न भएको छ । बाढीका कारण ६ सयभन्दा बढी वडामा अधिवेशन सम्पन्न हुन सकेन, खासगरी सुदूरपश्चिम प्रदेशमा,’ तामाङले भने, ‘ती वडामा पनि कात्तिक मसान्तसम्म सम्पन्न गर्न निर्देशन दिइसकिएको छ ।’ अध्यक्ष ओलीले पनि सम्बोधनका क्रममा अतिवृष्टिका कारण शनिबार हुन नसकेका वडा अधिवेशन छिट्टै सम्पन्न गर्न सम्बन्धित कमिटीलाई निर्देशन दिएका थिए । तर दसबुँदे सहमति पक्षधर नेताहरूले वडा अधिवेशन केही दिन सार्न गरेको आग्रहलाई ओलीले अस्वीकार गरेका थिए ।

देशभर ६ हजारभन्दा बढी वडामा सर्वसम्मत रूपमा नयाँ नेतृत्व र कमिटी चयन भएको सचिव तामाङले जानकारी दिए । ‘कुनै पनि ठाउँमा विवाद भएको र निर्वाचन भएको रिपोर्ट प्राप्त भएको छैन,’ उनले भने, ‘सबै ठाउँमा नेतृत्व सर्वसम्मत चयन भएको छ ।’एमालेको विधान महाधिवेशनबाट पारित विधानअनुसार गाउँ र नगरमा वडा अधिवेशनबाट ३१ सदस्यीय कमिटी बनेका छन् । उपमहानगरका वडामा ४१ र महानगरका वडामा ५१ सदस्यीय कमिटी हुने विधानमा छ । विधानअनुसार वडामा अध्यक्ष, उपाध्यक्ष र सचिव एक–एक तथा दुई उपसचिव रहेको कमिटी हुन्छ । ६ हजार ७ सय ४३ वडामा २ लाख ९ हजार कार्यकर्ता संगठित हुनेछन् । स्थानीय चुनावका लागि एमालेको यो सबैभन्दा ठूलो शक्ति हुनेछ । केन्द्रीय कार्यालय सचिव तामाङले बिहीबारै सर्कककलरमार्फत वडा अधिवेशनको तयारी मापदण्ड जारी गरेका थिए । सर्कुलरमा संविधान जारी भएपछि नयाँ संरचनामा अधिवेशन हुन लागेकाले पालिका र वडा अधिवेशनलाई पहिलो अधिवेशन मान्न निर्देशन दिइएको थियो । अधिवेशन सहजीकरणका लागि जिल्ला कमिटीका पदाधिकारी र सदस्यहरूलाई जिम्मेवारी तोकिएको थियो ।

एमालेले कात्तिक ९ मा देशभरका ७ सय ५३ पालिकामा पालिकास्तरीय अधिवेशन गर्दै छ । महानगरमा १ सय १ सदस्यीय, उपमहानगरमा ८५ सदस्यीय तथा गाउँपालिका र नगरपालिकामा ७५ सदस्यीय कमिटी रहने विधानमा छ । बिहीबार बसेको स्थायी कमिटी बैठकले पार्टीको दसौं महाधिवेशन चितवनमा आयोजना गर्ने निर्णय गरेको छ । गत असोज १५ देखि १७ सम्म ललितपुरको गोदावरीमा सम्पन्न प्रथम विधान महाधिवेशनमार्फत एमालेले पार्टीको नीति, विचार र विधान पारित भएकाले महाधिवेशन नेतृत्व चयनमा केन्द्रित हुनेछ । विधान महाधिवेशनले चुनावकेन्द्रित राजनीतिक र सांगठनिक योजना पनि बनाएको छ ।६ हजारभन्दा धेरै प्रतिनिधि सहभागी एमालेको पहिलो विधान महाधिवेशनले तीनवटै तहको निर्वाचनमा पार्टीलाई एकल बहुमतप्राप्त ठूलो दलका रूपमा स्थापित गर्ने संकल्प पारित गरेको थियो । ‘आसन्न स्थानीय तह निर्वाचनको तयारीमा लाग्न, आफ्ना पालिकाहरूमा पार्टीको विजय सुनिश्चित गर्न र यसका लागि आवश्यक संगठनात्मक व्यवस्थापनलाई तत्काल तीव्रता दिन सबै कमिटी तथा कमरेडहरूलाई आह्वान गर्दछ,’ महाधिवेशनबाट पारित प्रस्तावमा छ ।

विधान महाधिवेशनमा राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्न र सुझाव सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले पनि तीनवटै तहको चुनावमा पार्टीलाई सुदृढ बहुमतको स्थानमा पु¥याउने गरी तयारीको काममा जुट्न आह्वान गरेका थिए । ‘हामीले अब स्थानीय तहको निर्वाचन जित्नै पर्नेछ । संघीय र प्रदेश तहका निर्वाचन जित्नुपर्नेछ र त्यहाँ हामीले अत्यधिक सफलता प्राप्त गर्नुपर्नेछ । सकेसम्म सबै प्रदेश सरकार र केन्द्रीय सरकारमा हामीले वर्चस्व जमाउनुपर्नेछ, बहुमतको एमालेको सुदृढ संघीय सरकार बनाउनुपर्नेछ । यी कार्यभारलाई ध्यानमा राखेर अगाडि बढ्नुपर्नेछ,’ ओलीले भनेका थिए ।महाधिवेशनका लागि प्रतिनिधि चयन गर्न २०७७ चैत मसान्तसम्म संगठित सदस्य बनेका र नवीकरण गरेका सदस्यहरू योग्य रहने मापदण्ड बनाइएको छ । प्रतिनिधि चयनसम्बन्धी मापदण्ड तय गर्नेलगायतका विषयमा छलफल गर्न कात्तिक ११ मा स्थायी कमिटी र कात्तिक १२ मा केन्द्रीय कमिटी बैठक बोलाइएको छ । महाधिवेशनबाट नेतृत्व चयनका लागि विद्युतीय मतदान मेसिन प्रयोग गर्ने निर्णय एमालेले गरेको छ ।

पार्टीमा कुनै समस्या छैन ः ओली

काठमाडौं– एमाले अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालको बहिर्गमनपछि पार्टीमा समस्या नरहेको बताएका छन् । केन्द्रीय कार्यालय थापाथलीबाट शनिबार देशभरका वडा कमिटी अधिवेशनको भर्चुअल उद्घाटन गर्दै ओलीले पार्टी एक ढिक्का बनेको बताएका हुन् ।‘विभिन्न समयमा विभिन्न ढंगका बहिर्गमनपछि पार्टी एक ढिक्का छ,’ उनले भने, ‘पार्टीको हुर्मत लिने, व्यवधान गर्ने र पार्टीभित्रका समस्यालाई बढाइचढाइ गर्ने खालका कुरा अब पार्टीभित्र रहेन । यो खुसीको कुरा हो ।’ दसबुँदे सहमति कार्यान्वयनमा अनिच्छुक देखिएको भन्दै पार्टीभित्र विवाद भइरहेका बेला ओलीले पार्टीमा समस्या नरहेको दाबी गरेका हुन् ।

विपक्षीहरूले एमालेमा विवाद किन भएन भनेर हेरिरहेको उल्लेख गर्दै उनले सर्वसम्मतिमा जोड दिइरहेको बताए । ‘त्यत्रो महाधिवेशन भयो, कहीँकतै विमति भएन । कतिपयले लाञ्छना लगाए, यो त व्यक्तिगत पार्टी भनेर । व्यक्तिको प्रश्न हैन, आन्दोलनको नेतृत्वको प्रश्न हो,’ उनले भने, ‘पार्टीलाई एकजुट बनाएर लैजाँदा केन्द्रीय नेतृत्वदेखि लिएर सम्पूर्ण पार्टी एकजुट भएर अगाडि बढ्नु आजको आवश्यकता हो । त्यसकारण हामी सर्वसम्मतिमा जोड गरिरहेका छौं । विरोधीका चाहना, उनीहरूलाई खुसी पार्ने काम हामीले गर्ने हैन ।’एमाले र आन्दोलनमाथि चारैतिरबाट हमला भएका कारण राष्ट्रको समृद्धि, सुरक्षा र भविष्यमाथि असर परिरहेको दाबी पनि ओलीले गरे । तर आफूहरूले त्यसको सशक्त प्रतिवाद गरिरहेको र अब पनि गर्ने उनले बताए । ‘जनताको अभिमतबाट आज पनि एमाले पहिलो शक्ति हो । राजनीतिक, सांगठनिक, वैचारिक क्षेत्रमा देशको प्रमुख पार्टी हो । लामो उतारचढावबाट हाम्रो पार्टी प्रमुख हैसियतमा छ,’ उनले भने, ‘अब पनि तदनुरूपको जिम्मेवारी छ । राष्ट्र निर्माणको जिम्मेवारी हाम्रो काँधमा छ । सम्पूर्ण कमरेडहरूले यी अभिभारा पूरा गर्न तयार हुनुपर्छ ।’

देशको पहिलो शक्ति एमाले नै रहेको र आगामी निर्वाचनमा पनि तिनै तहमा सानदार बहुमत ल्याउने गरी तयारी गर्न ओलीले कार्यकर्तालाई निर्देशन दिएका छन् । ‘जनताले पत्याएको सुदृढ शक्ति हौं, हामी एक्लैले आगामी निर्वाचनमा सबै तहमा सानदार ढंगले बहुमत ल्याउँछौं,’ सम्बोधनका क्रममा ओलीले भने, ‘त्यसको तयारी पनि हामी गरिरहेका छौं । त्यसअनुसार आन्दोलनमा लाग्न कमरेडहरूलाई आग्रह गर्दछु ।’वर्तमान सत्ता गठबन्धनले मुलुकलाई अस्थिरतातर्फ धकेल्ने काम गरेको र अग्रगमन हुन नदिएको आरोप ओलीको छ । राज्य तहबाट नै अनुशासनहीनता भइरहेकाले मुलुकलाई गठबन्धनले विपरीत र प्रतिगमनको बाटोमा लगिरहेको उनले बताए । ‘पाँचदलीय गठबन्धन प्रतिक्रियावादी, प्रतिगामी हो,’ उनले भने, ‘कम्युनिस्ट आन्दोलन ध्वस्त पार्ने, फुटाउने, कम्युनिस्ट सरकार ढाल्ने र कम्युनिस्ट आन्दोलनलाई प्रतिक्रियावादीका पाउमा सेवा गर्ने ?’ तर एमालेले लोकतन्त्र र संविधानको रक्षा गर्न लागेको उनको दाबी थियो ।याे समाचार कान्तिपुर दैनिकमा  छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img