काठमाडौं, मंसिर १० देखि १२ सम्म चितवनमा हुने एमालेको १० औं महाधिवेशनबाट अहिलेसम्मकै धेरै महिला केन्द्रीय सदस्य चयन हुने भएका छन् ।गत असोज १५ देखि १७ सम्म ललितपुरको गोदावरीमा भएको विधान महाधिवेशनले विधान संशोधन गरेर पार्टीका हरेक निकायमा कम्तीमा ३३ प्रतिशत महिलाको सुनिश्चितता गरेको छ ।
१० औं महाधिवेशनमा २ सय २५ जना केन्द्रीय कमिटी सदस्य निर्वाचित हुँदा ७४ जना महिला निर्वाचित हुने भएपछि एमाले पार्टीको केन्द्रीय कमिटीमा सर्वाधिक महिला सहभागी गराउने पार्टी बन्ने छ ।एमालेको संशोधित विधानको धारा ६२ (२) मा लेखिएको छ, ‘सबै तहका निर्वाचित कमिटीहरू समावेशी चरित्रका हुनेछन् र तिनमा न्यूनतम ३३ प्रतिशत महिला सदस्य रहनेछन्।
’एमालेको विधानले महिला प्रतिनिधित्वको स्वरूप पनि समावेशी चरित्रको हुनुपर्ने उल्लेख गर्दै न्यूनतम योग्यता र मापदण्ड नपुगेको अवस्थामा भने महिला सदस्य तथा समावेशी सदस्यहरूको स्थान खाली राख्ने व्यवस्था गरेको छ ।अन्तरिम संविधानमा राज्यका सबै निकायमा ३३ प्रतिशत महिला हुनुपर्ने उल्लेख भए पनि नेपालको संविधान २०७२ ले सहभागिताको निश्चित संख्या तोकेको छैन ।