बेमौसमी वर्षाले ११ अर्ब ८७ करोडको धानबाली क्षति, किसानलाई सरकारको ५ अर्ब ५२ करोड राहत
– साना किसानलाई क्षतिको ६५%, मझौलालाई ३०%, ठूला किसान र आंशिक क्षति भएकालाई २०% राहत दिने मन्त्रिपरिषद्को निर्णय
– १० प्रतिशतसम्म धानको उत्पादन घट्ने र चामलको आयात झन् बढ्ने अनुमान
कात्तिक पहिलो साता तीन दिनसम्म परेको बेमौसमी वर्षाले किसानको ११ अर्ब ८७ करोड ५१ लाख ६० हजार रुपैयाँबराबरको धानबाली नष्ट गरेको छ । क्षतिको विवरण संकलन गर्न गृह मन्त्रालयका सचिवको नेतृत्वमा गठित समितिको प्रतिवेदनपछि सरकारले पीडित किसानलाई पाँच अर्ब ५२ करोड राहत उपलब्ध गराउने निर्णय गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले बाढी, पहिरो र डुबानका कारण क्षति बेहोरेका किसानलाई चार किसिममा वर्गीकरण गरी राहत उपलब्ध गराउने निर्णय गरेको हो । साना किसानलाई पहिलो प्राथमिकतामा राखिएको छ । यस वर्षका लागि निर्धारण भएको धानको न्यूनतम समर्थन मूल्य दुई हजार नौ सय दुई रुपैयाँ प्रतिक्विन्टल लागत मूल्य र प्रतिहेक्टर उत्पादन तीन मेट्रिकटनलाई आधार मानेर सरकारले राहत रकम निकालेको हो ।
सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार १० कट्ठासम्म खेत भएका साना किसानलाई ६५ प्रतिशत राहत उपलब्ध गराउने निर्णय भएको छ । यस्ता किसानले प्रतिकट्ठा एक हजार नौ सय २१ रुपैयाँका दरले राहत पाउनेछन् । त्यस्तै, ४० कट्ठासम्म (दुई बिघा) जमिन भएका किसानले पूर्ण क्षति बेहोरेको भए ३० प्रतिशत राहत पाउनेछन् । यस्ता किसानलाई प्रतिकट्ठा आठ सय ८७ रुपैयाँका दरले राहत दिइने मन्त्री कार्कीले बताए ।
पूर्ण क्षति बेहोरेका दुई बिघाभन्दा बढी खेती भएका ठूला किसानलाई सरकारले २० प्रतिशत राहत उपलब्ध गराउनेछ । यस्ता किसानले प्रतिकट्ठा पाँच सय ९१ रुपैयाँका दरले राहत पाउनेछन् । आंशिक क्षति भोगेका सबै किसानलाई २० प्रतिशतका दरले राहत उपलब्ध गराइनेछ । यस्ता किसानलाई पनि प्रतिकट्ठा पाँच सय ९१ रुपैयाँका दरले राहत दिइने मन्त्री कार्कीले बताए । अविरल वर्षाले गरेको क्षतिका कारण किसानहरू अत्तालिएपछि सरकारले छिटो तथ्यांक संकलन गरी राहत घोषणा गरेको हो ।
कहाँ कति क्षति भयो ?
कृषि मन्त्रालयका अनुसार देशभर एक लाख ११ हजार ६ सय नौ हेक्टरमा लगाइएको धानबालीमा वर्षाले क्षति पु¥याएको छ । सबैभन्दा बढी लुम्बिनी प्रदेशमा क्षति भएको छ । यहाँ ४२ हजार चार सय २७ हेक्टरमा लगाइएको धानबाली पूर्ण रूपमा क्षति भएको छ । जसबाट किसानको चार अर्ब ५१ करोड ४२ लाख ३३ हजार रुपैयाँ नोक्सान भएको मन्त्रालयका प्रवक्ता प्रकाश सञ्जेलले बताए । लुम्बिनीको बर्दिया, कपिलवस्तु, बाँके र रुपन्देहीका किसानको बढी क्षति भएको मन्त्रालयले जनाएको छ ।
त्यस्तै, सुदूरपश्चिममा ३६ हजार चार सय ५५ हेक्टरमा लगाइएको धानबालीमा क्षति हुँदा किसानको तीन अर्ब ८७ करोड ८७ लाख ८० हजार रुपैयाँको नोक्सान भएको छ । मुख्यगरी धेरै धान उत्पादन हुने कैलाली र कञ्चनपुरमा ठूलो क्षति पुगेको मन्त्रालयले जनाएको छ ।
प्रदेश २ मा १५ हजार एक सय ४६ हेक्टरमा लगाइएको धानबालीमा क्षति हुँदा किसानको एक अर्ब ६१ करोड १५ लाख ८२ हजार रुपैयाँ नोक्सान भएको छ । यस प्रदेशमा प्रदेश सप्तरी, सिराहा र सर्लाहीमा धेरै क्षति भएको छ ।
कृषि मन्त्रालयका प्रवक्ता प्रकाश सञ्जेलका अनुसार प्रदेश १ मा १३ हजार ९२ हेक्टरमा लगाइएको धानबालीमा क्षति पुगेको छ । त्यसबाट किसानलाई एक अर्ब ३९ करोड २९ लाख ३६ हजार रुपैयाँ नोक्सान भएको छ । प्रदेश १ मा मुख्यगरी धान उत्पादन धेरै हुने झापा, मोरङ र सुनसरीमा धेरै क्षति पुगेको विवरण संकलन समितिको प्रतिवेदनमा उल्लेख रहेको सञ्जेलले बताए ।
कर्णालीमा दुई हजार सात सय ६७ हेक्टरमा लगाइएको बाली पूर्ण क्षति भएको छ । यहाँका किसानको २९ करोड ४४ लाख नौ हजार रुपैयाँबराबरको नोक्सानी भएको छ । कर्णालीको डोल्पा, जुम्ला, सल्यान र सुर्खेतमा बढी क्षति भएको छ । जुम्लामा लगाइएको मार्सी धानमा धेरै क्षति पुगेको छ ।
त्यस्तै, गण्डकीमा एक हजार एक सय ९२ हेक्टरमा लगाइएको धानबालीमा क्षति पुगेको छ । जसबाट किसानलाई १२ करोड ६८ लाख २९ हजार रुपैयाँ नोक्सान भएको कृषि मन्त्रालयले जनाएको छ । यो प्रदेशमा स्याङ्जा, कास्की, नवलपरासीमा बढी क्षति पुगेको छ । गण्डकीको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव हरिबहादुर केसीले पहाडी क्षेत्रको भिरालो जमिनमा डुबान परेको र पानी कटाएर क्षति कम गरिएको बताए ।
बागमतीमा तुलनात्मक रूपले कम क्षति भएको छ । यहाँ पाँच सय ३० हेक्टरमा लगाइएको धानबाली नष्ट हुँदा पाँच करोड ६३ लाख ९२ हजार रुपैयाँको नोक्सानी भएको छ । बागमतीको नुवाकोट र चितवनमा बढी क्षति पुगेको मन्त्रालयले जनाएको छ । नयाँ पत्रिकामा खवर छ ।
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -
- Advertisement -