सुर्खेत, कर्णाली प्रदेशमा नयाँ सरकार गठनसंगै मन्त्री हुनेको नाम चर्चामा आउन थालेको छ । सत्ता गठबन्धन दल माओवादीका तर्फबाट मन्त्री हुनेको नाम चर्चामा आउन थालेको हो । त्यस्तै चार मन्त्री दाबी गरेको माओवादीले सरकारमा नयाँ व्यक्तिलाई मौका दिने जनाएको छ।
सांसद विन्दमान विष्टको नेतृत्वमा माओवादी सरकारमा सहभागी हुनेगरी छलफल भइरहेको माओवादीका एक सांसदले बताए। ‘अब विष्टजीकै नेतृत्वमा हामी सरकारमा जान्छौं,’ एक नेताले भने, ‘नयाँलाई मौका दिनेगरी छलफल भइरहेको छ।ती सांसदका अनुसार रुकुम पश्चिमका गोपाल शर्मालाई पुनः मन्त्रीमा दोहोरिनुपर्ने दबाब बढेको छ। मुख्यमन्त्रीले राजीनामा दिनुअघि उनी आर्थिक मामिला तथा योजना मन्त्री थिए।
तर रुकुमले यसअघि नै दुई वटा मन्त्री पाइसकेका कारण अब रुकुम बाहेकका जिल्लाबाट मन्त्री बनाउने प्रयास भइरहेको छ। ती सांसदका अनुसार माओवादी केन्द्रबाट विन्दामान विष्ट , डोल्पाका विरबहादुर शाही, जाजरकोटकी कृष्णा शाहको नाम नयाँ मन्त्री बन्नेमा चर्चा छ। माओवादीले ४ मन्त्रालय पाएको खण्डमा गणेशप्रसाद सिंह मन्त्रीको दाबी छोड्न सक्ने छन्।