काठमाडौं, नेपाली कांग्रेसले रसुवा जिल्लाको क्रियाशील सदस्यता विवरण सार्वजनिक गरेको छ । सोमबार कांग्रेसको केन्द्रीय निर्वाचन समितिले रसुवाको क्रियाशील सदस्यताको अन्तिम सूची सार्वजनिक गरेको हो ।रसुवामा नयाँ–पुराना गरी ३,८८० जनाको सदस्यता सूची सार्वजनिक गरिएको निर्वाचन समितिले जनाएको छ । अब रौतहट जिल्लाको क्रियाशील सदस्यता नामावली सार्वजनिक हुन बाँकी छ ।रसुवामा तत्कालिन नयाँ शक्ति पार्टीबाट प्रवेश गरेकाहरुलाई दिइएको क्रियाशील सदस्यतालाई लिएर विवाद थियो । नयाँ शक्तिबाट आएकालाई करिव १२ सय क्रियाशील सदस्यता वितरण गरिएको थियो ।
कांग्रेसमा १६ सय क्रियाशील सदस्य रहेकामा तत्कालिन नयाँ शक्तिबाट त्यति नै संख्यामा क्रियाशील सदस्यता थपिएका छन् । पार्टीमा लामो समय योगदान गरेका नेता कार्यकर्तालाई कमजोर बनाउने गरी अन्य पार्टीबाट प्रवेश गरेकालाई क्रियाशील सदस्यता वितरण गरिएको भन्दै रसुवामा विवाद भएको थियो ।रसुवाको क्रियाशील सदस्यता विवाद मिलाउने जिम्मा कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेललाई दिइएको थियो । लामो छलफलपछि रसुवामा क्रियाशील सदस्यता विवाद टुंगिएको हो ।निर्वाचन समितिका अनुसार रसुवामा कात्तिक २७ गते वडा अधिवेशन हुने छ । रसुवासहित वडा अधिवेशन नभएका जिल्लामा २७ गते अधिवेशन हुने गरी निर्वाचन समितिले यसअघि नै कार्यतालिका सार्वजनिक गरिसकेको छ ।
कांग्रेसको १३ जिल्लामा वडा अधिवेशन हुन बाँकी छ । निर्वाचन समितिले अधिवेशन नभएका जिल्लामा केन्द्रीय प्रतिनिधि तोकिसकेको छ । क्रियाशील सदस्यता विवाद नटुंगिएका कारण रौतहटको अधिवेशन भने अन्यौलमा छ ।निर्वाचन समितिले अधिवेशन नभएका जिल्लामा केन्द्रीय प्रतिनिधि तोकिसकेको छ । क्रियाशील सदस्यता धाँधलीपूर्ण भएको भन्दै १०९ दिनदेखि रौतहटको प्रतिनिधि सभा क्षेत्र –१ का नेता कार्यकर्ता पार्टी कार्यालय सानेपामा अनसनमा छन् । कांग्रेसको केन्द्रीय महाधिवेशन २४ देखि २७ सम्म काठमाडौंमा हुँदैछ ।