काठमाडौं, अर्थमन्त्री जनार्दन शर्माले तातोपानी नाका निरीक्षण गरेका छन्।उनले तातोपानी नाकाको पूर्वाधार विकास गर्न अर्थ सचिव र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिवलाई छलफल गरेर लगानीका लागि ठोस योजना बनाउनसमेत निर्देशन दिएका छन्।अर्थमन्त्री शर्मा सोमबार उक्त नाका निरीक्षण गर्न पुगेका थिए। उनले चीन सरकारले ठोस रूपमा सहयोग गर्ने र नेपालले पनि गर्न सक्ने लगानीको योजना बनाएर नाकाको पूर्वाधार विकासमा सहकार्य गर्नुपर्ने बताए।
‘यहाँको पूर्वाधारका लागि हामीलाई कति बजेट चाहिने हो, यो वर्ष काम गर्न सक्ने कति हो, त्यसको माग गर्नुहोस्’, उनले भने, ‘चीन सरकारले कति गर्ने हो त्यसको पनि मूल्याङ्कन गर्नुहोस्।’तातोपानी नाका अन्तर्राष्ट्रिय नाका भएकाले सरकारले महत्वसाथ हेरेको र द्विपक्षीय समन्वयका आधारमा यसको विकास गर्नुपर्ने मन्त्री शर्माले बताए।चीन सरकारको सहयोगमा निर्मित सुख्खा बन्दरगाहको पनि मन्त्री शर्माले निरीक्षण गरेका छन्।
कोरोना महामारीका कारण हाल तातोपानी नाका प्रायः बन्द रहेको छ। पछिल्लो समय दैनिक करिब एक दर्जन मालबाहक सवारी नेपाल भित्रिने गरेका छन्। नाकाबाट अधिकांश तयारी कपडा भित्रिने गरेको तातोपानी भन्सारले जानकारी दिएको छ। त्यस्तै स्याउ, रबर, प्लास्टिकका जुत्ता चप्पल, ओखर लगायतका मालवस्तु भित्रिने गरेका छन्।साथै अर्थमन्त्री शर्माले तोकिएकोभन्दा दुई सय गुणा बढी राजश्व संकलन गर्ने आफ्नो लक्ष्य रहेको बताएका थिए।मन्त्री शर्माले विभिन्न चुनौतीकाबीच राजश्व संकलन दोब्बर बनाउने लक्ष्य रहेको बताए। ‘तोकिएको लक्ष्यभन्दा दुई सय गुणा बढी राजश्व उठाउने लक्ष्य लिएको छु’, उनले भने, ‘बाहिर तोकिएकोले मात्र पुग्दैन। राजश्व बढाउनका लागि कडाइसमेत गरिएको छ।’यसैबीच सभामुख अग्निप्रसाद सापकोटालगायत पनि तातोपानी भन्सार नाका निरीक्षणका लागि पुगेका थिए।