काठमाडाैँ, गत महिना बोक्सी आरोपमा भएको हत्या र मलमूत्र खुवाई गरिएको कुटपिट घटनाका अभियुक्तलाई जिल्ला अदालत महोत्तरीले पुर्पक्षका लागि थुनामा पठाएको छ । न्यायाधीश ठाकुरप्रसाद खरेल र मुकेश उपाध्यायको बेग्लाबेग्लै इजलासले सोमबार बोक्सी आरोपमा भएका दुवै घटनाका अभियुक्तलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।
महोत्तरी गाउँपालिका–३ मडइकी ४२ वर्षीया शीलादेवी झाको गत २८ असोजमा देवर सञ्जयकुमार झाले हत्या गरेका थिए । यस्तै, जलेश्वर– ४ सुगाकी सुकमरिया देवीलाई छिमेकीहरूले मलमूत्र खुवाई, चारपाटे मुण्डन गरी बिजुलीको पोलमा बाँधेर निर्मम कुटपिट गरेका थिए ।
सोमबार जिल्ला अदालतलको ६ नम्बर बेन्चमा भएको थुनछेक बहसको क्रममा न्यायाधीश खरेलले अभियुक्त सञ्जयलाई थुनामा राखी पुर्पक्षको आदेश दिएका थिए । २ नम्बर बेन्चमा भएको बोक्सी आरोपकै कुटपिट मुद्दामा थुनछेक बहसपछि न्यायाधीश उपाध्यायले अभियुक्तहरू ६५ वर्षीया प्रमिला देवी, उनका छोराहरू ३५ वर्षीय सिकिन्दर महतो र २० वर्षीय अनिल महतो तथा ३२ वर्षीया बुहारी पुरनी देवीलाई पुर्पक्षका लागि थुनामा पठाएको स्रेस्तेदार मदनप्रसाद जयसवालले जानकारी दिए ।
समाचार प्रकाशनपछि अनुसन्धानमा गम्भीरतादसैँको सप्तमी र अष्टमीका दिन भएका दुवै घटनाबारे विस्तृत समाचार प्रकाशन गरेको थियो । यस्तै, बोक्सी आरोपमा भएका हत्या तथा कुटपिट घटनाका अभियुक्त अदालतबाट सहजै छुट्ने गरेको तथ्यांकसहित अर्को समाचारसमेत प्रकाशन गरेको थियो । प्रहरीले कमजोर अनुसन्धान गर्ने तथा सरकारी वकिलको कार्यालयले गम्भीरतापूर्वक मुद्दाको मिसिल तयार नगरी अदालतमा पेस गर्ने गरेकाले दोषीहरूले सहजै सफाइ पाउँदै आएका छन् । समाचार प्रकाशनपछि गम्भीरतापूर्वक अनुसन्धान गर्न प्रहरीलाई दबाब परेको थियो ।
शीलादेवी र सकमरियादेवीको मुद्दामा प्रहरीले विस्तृत अनुसन्धान गरी अभियोग पुष्टि हुने प्रमाणसमेत संकलन गरेको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरूले बताएका छन् । यस्तै, सरकारी वकिलको कार्यालयले पनि प्राप्त प्रमाणहरूसहित अभियुक्तलाई हदैसम्मको कारबाहीका लागि अभियोग दार्ता गरेको छ ।
पर्याप्त प्रमाणकै कारण जिल्ला अदालतले अभियुक्तहरूलाई पुर्पक्षका लागि थुनामा पठाएको महोत्तरीका जिल्ला न्यायाधिवक्ता यादवप्रसाद पौडेलले बताए । ‘यस्ता जघन्य अपराधका अभियुक्तलाई थुनामै राखेर मुद्दा चलाउन अदालतसमक्ष हामीले माग गरेका थियौँ,’ न्यायाधिवक्ता पौडेलले भने, ‘हामी पीडितलाई न्याय दिलाउन प्रतिबद्ध रहेकाले दोषीलाई कानुनअनुसार कारबाही दिलाउन सम्पूर्ण प्रयास गर्नेछौँ ।’