काठमाण्डौ, मुस्ताङमा फेरि हिम पहिरो जाने जोखिम रहेकाले सतर्क रहन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । मुस्ताङको थासाङ गाउँपालिका वडा नम्बर २ को कोवाङमा हिजो बिहान ११ बजेर २० मिनेटमा निकै ठूलो हिम पहिरो गएको थियो । अझै पनि त्यो क्षेत्रमा बाक्लो हिउँका ढिस्कोहरु रहेकाले फेरि हिउँ पग्लिएर खस्ने खतरा रहेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले उज्यालोलाई जानकारी दिनुभयो ।
हिम पहिरो खस्दा तीव्र गतिमा आउने हावाको वेगले बस्तीमा असर गर्न सक्ने भएकाले सावधानी अपनाइएको उहाँले बताउनुभयो । हिजो भागदौड मच्चिँदा दुई जना शिक्षक, एक जना विद्यालयका कर्मचारी र ८ जना विद्यार्थी घाइते भएका छन् ।
मानापाथी हिमालको फेदी थासाङ गाउँपालिका– २ को जनआदर्श माविका शिक्षक र विद्यार्थी घाइते भएका हुन् । यस्तै, हिमपहिरो खसेको क्षेत्र नजिकै चौँरीको चरन क्षेत्र भएकाले हिम पहिरोमा केही चौँरी परेको हुनसक्ने अनुमान गरिएको छ ।
चौँरीको खोजीका लागि टोली खटिसकेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिनुभयो । विज्ञहरुले यो घटनालाई जलवायु परिवर्तनसँग जोडेर हेरेका छन् । मुस्ताङमा हिम पहिरो जाँदा ११ जना घाइते भएका छन् । मुस्ताङको थासाङ गाउँपालिका वडा नम्बर २ को कोवाङमा आज आइतवार दिउँसो १२ बजेतिर निकै ठूलो हिम पहिरो गएको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिनुभयो ।