दाङ, रोल्पामा बिहीबार बेलुकी भएको बस दुर्घटनामा ज्यान गुमाएका चारै जनाको सनाखत भएको छ।घटनास्थलमै मृत्यु भएका तीन जना पुरूष र एक महिलाको शुक्रबार बिहान सनाखत भएको हो।बसका चालक दाङको परिवर्तन गाउँपालिका वडा नं. ५ का ४० वर्षीय वीरमान बुढा, वडा नं. ६ का ५० वर्षीय कुमार पुन,वडा नं. १ का २९ वर्षीय दीपक रोका र त्रिवेणी गाउँपालिका वडा नं. ४ की १८ वर्षीया पुष्पा घर्ती मगरको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक कृष्ण रानाले दुर्घटनाका १९ जना घाइतेको विभिन्न ठाउँका अस्पतालमा उपचार भइरहेको बताए।
पाँच जनाको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको उनले बताए।भैरहवामा उपचाररत मध्य परिवर्तन गाउँपालिका वडा नं. २ की २१ वर्षीया अनिता बोहोराको अवस्था गम्भीर रहेको प्रहरीनिरीक्षक रानाले बताए।
घाइतेमध्ये ११ जनाको जिल्ला अस्पताल रेउघामा र ३ जनाको घर्ती गाउँस्थित स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरी निरीक्षक रानाले जानकारी दिए।दाङको घोराहीबाट शहीद मार्ग हुँदै रोल्पाको थवाङतर्फ जाँदै गरेको ना ३ ख ५५१८ नम्बरको बस बेलुका साढे ६ बजे माडी गाउँपालिका वडा नम्बर २ जलजलास्थित माडी खोलामा बस खसेको थियो।
घटनास्थलमा बाटो साँघुरो हुुनुका साथै घुम्ती रहेको हुँदा मोडमा स्टेरिङले काम नगरेर बस दुर्घटनामा परेको हुन सक्ने प्रहरीको आशंका छ।बस सडकदेखि झन्डै एक सय मिटर तल खसेको छ।कात्तिक २८ गते बिहान माडी गाउँपालिकाबाट घर्ती गाउँतर्फ जाँदै गरेको जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको थियो।