काठमाडौँ, कानुन व्यवसायीहरुले गृहमन्त्री बालकृष्ण खाँणको राजीनामा माग गरेका छन् । सर्वोच्च अदालत परिसरभित्र सशस्त्र र दंगा प्रहरी परिचालन गरेर कानुन व्यवसायीमाथि दमन गरेको भन्दै उनीहरुले गृहमन्त्री खाँणको राजीनामा माग गरेका हुन् ।कानुनको मन्दिरभित्र सयौं दंगा प्रहरी उपस्थित गराएर कानुन व्यवसायीहरुमाथि दमन गर्न खोजिएको उनीहरुले बताएका छन् ।
आइतबारको प्रदर्शनमा वकिलहरुले ’दंगा प्रहरी बाहिर जा’ भन्ने नारा लगाएपछि त्यहाँ रहेका एक डीएसपीले माइकबाट, ’तपाईंहरू आफ्नो मुद्दा, मागका नारा लगाउनुस्, यो त प्रहरीविरुद्ध जस्तो भयो’ भनेपछि कानुन व्यवसायीले नाराबाजी गरेका थिए । प्रहरी अधिकारीको उक्त आह्वानपछि कानुन व्यवसायीले गृहमन्त्री, प्रधानन्यायाधीश, अदालत प्रशासन र प्रहरीविरुद्ध नाराबाजी गरेका हुन् ।
वकिलहरुले अदालत परिसरभित्र धर्ना दिन थालेयता सर्वोच्च अदालतमा प्रहरी र सुरक्षा बढाइएको छ । अदालत परिसरभित्र सशस्त्र प्रहरी समेत उपस्थित भएपछि कानुन व्यवसायीहरुले हटाउन माग गर्दै आएका छन् ।आइतबार कानुन व्यवसायीहरुले प्रधानन्यायाधीश जबरालाई ’गुण्डा नाइके’ भन्दै राजीनामा माग गर्दै नाराबाजी गरेका छन् ।