सुदूरपश्चिम, नौ जिल्लामध्ये सबैभन्दा बढी निर्वाचन क्षेत्र भएको कैलालीमा कांग्रेसको क्षेत्रीय सभापति र महाधिवेशन प्रतिनिधिमा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा समूहको वर्चस्व देखिएको छ । पाँचवटै निर्वाचन क्षेत्रको क्षेत्रीय सभापतिमा देउवानिकट उम्मेदवार विजयी भएका छन् ।
यस्तै, जिल्लाभरि निर्वाचनबाट चयन भएका एक सय २५ जना महाधिवेशन प्रतिनिधिमध्ये एक सय १३ जना देउवानिकट छन् । १२ जना महाधिवेशन प्रतिनिधि मात्र संस्थापन इतरपक्षबाट विजयी भएको कांग्रेस नेताहरूले बताएका छन् । वडा, पालिका र प्रदेश निर्वाचन क्षेत्रमा पनि देउवा समूहकै वर्चस्व देखिएको छ ।
कैलालीमा संस्थापन इतरसमूह निकै कमजोर छ भने देउवा समूहमै गुटउपगुट छन् । त्यसैले महाधिवेशन प्रतिनिधि, क्षेत्रीय सभापतिदेखि, वडा सभापतिसम्ममा देउवा पक्षबीचमै प्रतिस्पर्धा भएको थियो । देउवा पक्षमै दुई गुटले चुनावमा दुई प्यानल भएकोले आफूअनुकूल प्यानलमा सहभागी भएर महाधिवेशन प्रतिनिधिमा संस्थापन इतरसमूहका केही उम्मेदवार विजयी भएका हुन् ।
प्रधानमन्त्री देउवा पत्नी आरजु राणाले गत निर्वाचनमा लडेको कैलाली क्षेत्र नम्बर ५ को सभापतिका लागि देउवा समूहकै पाँचजना बीच प्रतिस्पर्धा भएको थियो । यो क्षेत्रमा महाधिवेशन प्रतिनिधिका लागि पनि अधिकांश प्रत्यासी देउवा समूहकै थिए ।
क्षेत्र नम्बर १ को सभापतिमा प्रकाश शाह, २ मा विष्णुप्रसाद ढकाल, ३ मा रीता चौधरी, ४ मा वसन्त रोकाया र ५ मा भीम पडाल विजयी भएका छन् । संस्थापन इतरसमूहका पूर्वजिल्ला सभापति गोविन्दराज जोशी, वर्तमान जिल्ला सचिव पूर्ण कुँवर, पूर्वउपसभापति वीरबहादुर हमाल, नेता बुद्धिसागर चौधरी महाधिवेशन प्रतिनिधिमा पराजित भए । जोशीपुर गाउँपालिका अध्यक्ष रामकृष्ण चौधरी प्रदेश सभा क्षेत्रीय सभापतिमा पराजित भए ।
आन्तरिक गुटबन्दीले देउवा समूहकै केही नेताहरू पनि महाधिवेशन प्रतिनिधि, क्षेत्रीय सभापतिमा पराजित भएका छन् । क्षेत्रीय सभापतिहरू भुवन अधिकारी र दिनेश जोशी क्षेत्रीय सभापतिमै पराजित भए । पूर्वसांसद सुशीला स्वाँर, कांग्रेसको गोदावरी नगरपालिकाका पूर्वसभापति हेमप्रकाश उप्रेती, फकिरसिंह कडायत, लक्ष्मीराज पाठक, जंगबहादुर साउदलगायत नेताहरू पनि निर्वाचित हुन सकेनन् । उप्रेती र पाठक वडामै क्षेत्रीय प्रतिनिधिमा र अरू नेता महाधिवेशन प्रतिनिधिमा पराजित भएका हुन् ।

















