spot_img

डोल्पो महोत्सव डोल्पाको पर्यटन विकासमा कोशेढुङ्गा सावित भएको छ ः पेमा छेबाङ भोटे ( भिडियोसहित )

spot_img

रूपक कुलाल,काठमाडाैँ

२०७६ भदौ २४ गतेदेखि २८ गतेसम्म उपल्लो डोल्पाको धो तराप उपत्यकामा डोल्पो महोत्सव भयो । महोत्सव डोल्पाको पर्यटन विकासमा कोसेढुङ्गा सावित हुने अपेक्षा पनि थियो । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, पूर्वमन्त्री तथा नेकपाका नेता जनार्दन शर्मा, संस्कृति तथा पर्यटन राज्यमन्त्री धनबहादुर बुढालगायतका नेताको उपस्थिति रहेको महोत्सवमा भेरी करिडोर निर्माण, धो तरापमा हिमाली शहर निर्माणका योजनाहरु पनि बुनिए । डोल्पो महोत्सवको उपलब्धी र पर्यटन क्षेत्रमा पु¥याउन सकिने टेवाबारे पत्रकार रुपक कुलालले महोत्सव मूल आयोजक समिति सदस्य पेम्मा छेबाङ भोटेसँग गर्नुभएको कुराकानी ।

नमस्कार पेमाजी ।
नमस्कार ।

सञ्चै हुनुहुन्छ ?

सञ्चै आराम छु

डोल्पो महोत्सव भव्य रुपमा सफल भयो भन्ने निष्कर्षमा हुनुहुन्छ ?

महोत्सव सफल बनायौँ, महोत्सवमा आन्तरिक र बाह्य पर्यटकको राम्रो उपस्थितिले हौसला पनि बढायो । समग्रमा डोल्पाको पनि माथिल्लो भेग धो तरापमा यस्तो महोत्सव गर्नु निकै कठिन र चुनौती थियो । सुरुमा महोत्सवका विषयमा सोच्दा र तयारी गर्दै जाँदा हाम्रो सपना मात्रै थियो । आयोजक बनेर खटिएको समूहको मेहेनत र सहयोगी हातहरुका कारण सपना साकार भयो । सफल नै भयो ।

धुमधामका साथ महोत्सव गर्नुभयो । महोत्सव सकिएको छ, अब स्थानीयको अपेक्षा के छ ? महोत्सवले के के प्रभाव पारेको छ ? तपाईंहरुले त महोत्सव डोल्पाको पर्यटन विकासमा कोसेढुङ्गा सावित हुने बताउनु भएको थियो ।

सुरुमा त हाम्रो उद्धेश्य नै पर्यटन पर्वद्धन मात्र थियो । खासगरी भिजिट २०२० को पूर्वसन्ध्यामा धो तराप जस्तो सुन्दरताको खानी ‘हिडन ल्याण्ड’लाइ ‘एक्सपोज’ गरौँ भन्ने मात्र उद्धेश्य हो । साथै धो तराप क्षेत्रको पूर्वाधार विकासमा पनि महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा थियो । महोत्सवमै पर्यटन व्यवसायीको ठूलो सहयोग थियो ।

डोल्पो महोत्सवपछि धेरैले धो तरापको सुन्दरताबारे थाहा पाए । धो तराप आफैँमा प्राकृतिक सुन्दरता, धार्मिक र पर्यटकीय सम्भावनाको खानी भएर पनि प्रचारप्रसार किन हुन सकेन ? अथवा भनौँ, पर्यटकीय सम्भावना बोकेर पनि सोचेअनुसारको पर्यटन विकास नहुनमा के कारण हुन सक्छ ?
सबैभन्दा महत्वपूर्ण विषय के हो भने, धो तरापको पर्यटन सुन्दरता विश्वको आँखामा परेन, हामी यसै पछि परिहाल्यौँ । सञ्चारमाध्यममा पनि प्रचारप्रसार भएन, भौगोलिक विकटताका कारण सञ्चारको आँखामा परेन । नयाँ प्रविधिको जमानासँग यात्राका मामलामा पनि हामी पछाडि परिरहेकै थियौँ । महोत्सवमा यसपटक राष्ट्रियस्तरका मिडियाकर्मीको बाक्लो उपस्थिति अनि राम्रो मिडिया कभरेजले प्रचारप्रसारका काम भए । महोत्सव भन्दाअघि सरकारको आँखामा पनि नपरेको र मिडियाको पहुँच नपुगेकालेले पर्यटन विकास सोचेअनुसारको नभएको हो । यति सुन्दर ठाउँमा बसेर पनि लुकेर बसेजस्तो भइरहेका थियौँ । मिडियाले अब धो तरापलाई स्पर्धामा ल्याइदिएको छ पर्यटन बजारमा ।

धो तराप क्षेत्रलगायत समग्र डोल्पाको पर्यटन विकासका लागि कस्ता योजना जरुरी छन् ? के–के गर्नुपर्ला ?
डोल्पामा पर्यटन विकासका लागि सबैभन्दा पहिला टिकेटिङको समस्या छ । विदेशी र आन्तरिक पर्यटकका लागि छुट्टै टिकेटिङ सिस्टम छ । विदेशी पर्यटकलाई दोब्बर, तेब्बर चार्ज लगाउँछौँ । डोल्पा सबैभन्दा महङ्गो पर्यटकीय गन्तव्य भनेर पनि चिनिन्छ । टिकेटिङ सिस्टम र महंगी कम गर्न सकियो भने पर्यटन विकासमा एउटा खुड्किलो नै पार हुन्छ । पर्यटकलाई प्रोत्साहित गर्न सक्छौँ । पर्यटकहरु पहिलेको तुलनामा बढिरहेका पनि छन् । तर त्यसको फाइदा स्थानीयले पाएका छैनन् । किनकी धेरै पर्यटक ट्रेकिङका लागि आउँछन् । उनीहरु खाने लगाउनेदेखि बस्नेसम्मको व्यवस्था आफैँ गरेर आउँछन् । उनीहरु हाम्रो ठाउँ घुम्ने र फोटो खिच्ने काममा सीमित हुन्छन् । यसरी त डोल्पाको पर्यटन व्यवसाय कसरी फस्टाउनु र ?

पूर्वाधारको प्रसंगमै डोल्पामा निकै समस्या देखिन्छ, दुनैसम्म सडक सञ्जालले जोडिए पनि चर्चित पर्यटकीय गन्तव्य शे फोक्सुण्डो, धो तरापमा सडक सुविधा छैन । पर्यटक हिँडेर पुग्नै समस्या छ । पछिल्लो समय केही पूर्वाधार बनेको छ र ? सडक निर्माणका लागि केही पहल भए ?

मुलुक संघीयतामा गएपछि केही परिणामहरु हेर्दा ‘पोजेटिभ इन्डिकेसन’ नै देखिन्छ । पर्यटकका लागि छुट्टै पदमार्ग, तिन्जे, धो तराप, शे फोक्सुण्डोलगायतका स्थानमा क्याम्पिङ साइड निर्माण भएका छन् । पर्यटन विकासका लागि भेरी करिडोर निर्माणको चर्चा चु्लिएको छ । तर पर्यटककै लागि भनेर ठूलो पहलकदमी भएको छैन, हामीले पनि अपेक्षा गरनौँ कि ?

डोल्पो महोत्सवमा गएका संघीय मन्त्री, नेता, कर्णाली प्रदेशका मन्त्रीले धो तरापमा हिमाली शहर निर्माण, सुख्खा बन्दरगाह र भेरी करिडोर चाँडै निर्माणको आश्वासन दिएका थिए । नेताको आश्वासन पूरा होला त ?

तपाईंले निकै महत्वपूर्ण प्रसंग उठाउनु भयो । संघ, प्रदेश र स्थानीय तहले गर्न सक्ने धेरै काम छन् । संघ, प्रदेश र स्थानीय तह कसले गर्ने भन्ने विवाद हुनसक्छ । महोत्सवमा सबैको उपस्थिति हुँदा सरकारका प्रतिनिधि उपप्रधानमन्त्री ईश्वर पोखरेलदेखि सम्पूर्ण नेताले दिएको आश्वासन एक किसिमले उत्साहजनक थियो । अर्कोतिर प्रायःजसो जनमानसको गुनासो पनि छ कि, नेताले भाषण दिन्छन् तर काम हुँदैन । उनीहरु ‘मास एट्र्याक्सन’ गर्न सिपालु छन् । स्थानीयले यसो भन्नु गलत पनि होइन । र, हामी पनि चुप लागेर बस्यौँ भने आश्वासनमै सीमित हुन्छ । संघ, प्रदेश र स्थानीय तहसँगै मिडियामा पनि यहाँको मुद्दा झक्झकाइरहन सक्नु पर्छ, सफल हुनसक्छ ।

भेरी करिडोरकै कुरा गर्दा, अब बन्न बाँकी दुनैदेखि धोसम्मको बाटो निकै कठिन देखिन्छ । स्थानीय चैँ त्यो सडक निर्माणको जिम्मा नेपाली सेनाले लिनु पर्छ भन्ने माग गरिरहेका छन् । ठेकेदारले लिए वर्षौँ लाग्न सक्छ वा पुरा नहुने सम्भावना पनि छ नि ?

भेरी करिडोर निर्माण भए डोल्पा र कर्णालीका साथै मुलुकलाई नै फाइदा पुग्छ । मुख्यतः कर्णाली प्रदेशको भारतसँग लिंक छैन । त्यसैले इन्टरनेसनल लिंकका लागि भए पनि चीनसँग लिंक गर्न जरुरी छ । महत्वपूर्ण नाका मरिम नाका हो । मरिमदेखि धोसम्म सडक खनिएको छ । दुनैदेखि लहिनीसम्म सडक निर्माण भएको छ । लहिनीदेखि धो तराप बीचमा चट्टानै चट्टानले बनेका सडकका कारण भौगोलिक कठिनाइ छ । यसलाई पुरा गर्न तपाईंले भनेजस्तै नेपाली सेनाले त्यो ठेक्का नलिने हो भने सडक निर्माण सम्भव देखिन्न । अझ भनौँ, ठेकेदारबाट सडक निर्माण सम्भव देखिन्न भन्ने स्थानीयको भनाइ गलत पनि होइन । जाजरकोटबाट रुकुम हुँदै डोल्पा सदरमुकाम दुनैसम्मको सडक निर्माण एकदमै कठिन थियो तर सेनाले सडक निर्माण गरिछाड्यो । सेनाको त्यही उदाहरणनीय कामलाई हेर्दा पनि भेरी करिडोरको बाँकी काम सेनाले नै गर्नुपर्छ भन्ने स्थानीयको माग हो । सेनाबाट मात्र सम्भव देखिन्छ भने काम पनि चाँडै हुनसक्छ ।

मुलुक संघीयतामा गइसकेको छ, गाउँगाउँमा सिंहदरबार पुगेको भनिएको छ । उपल्लो डोल्लाबासीको राज्यलाइ सधैँ एउटा प्रश्न ः राज्यले हामीलाई अर्को देशको नागरिकजस्तो व्यवहार गर्छ, नागरिकता दिने बाहेक केही सुविधा दिएन । के अहिले पनि अवस्था यस्तै हो ?

हामी उपल्लो डोल्पाका बासिन्दाको गुनासो के हो भने सरकारको नागरिकता दिने बाहेक अरु केही सुविधा भएन । नागरिकता हुनु नै नेपाली हुनु हो तर नागरिकता पाएपछि नागरिकले पाउनु पर्ने सेवासुविधा, हकअधिकारका कुरामा सरकार चुकेको छ । स्थानीय सरकार आउनु भन्दा पहिला हेर्ने हो भने उपल्लो डोल्पामा शिक्षा, स्वास्थ्यलगायतका आधारभूत काम पनि भएको थिएन । तपाईंले हेर्नु भयो भने उपल्लो डोल्पामा सञ्चालित अधिकांश शैक्षिक संस्था र स्वास्थ्य चौकीमा विदेशी सहयोग छन् । राज्यबाट पाउनु पर्ने अधिकार र सेवासुविधामा त विदेशीले सहयोगबाट मात्र सम्भव छ । तिमीहरुलाई विदेशीले हेर्छन् भन्दै कतिपय विकास निर्माणका योजना काटिए पनि । स्थानीय सरकार आएपछि चैँ जनताको घरदैलोमा सरकार पुगेजस्तो र नेपाल सरकारबाट पनि केही सेवासुविधा तथा अधिकार पाएका महसुस भएको छ । नेपाली भएकामा गर्वको अनुभूति हुन्छ ।

अन्तिममा केही भन्नु छ कि ?
डोल्पो महोत्सव हाम्रा लागि सपना जस्तै थियो । आयोजक समितिमा अधिकांश युवा जमात थियो, त्यो युवाको जोशजाँगर र इच्छाशक्तिले नै महोत्सव भव्य रुपमा सफल भयो । अब यसको सन्देश के हो भने युवालाई अवसर दिए सफल भइन्छ भन्ने पाठ चैँ डोल्पो महोत्सवको आयोजनाबाट लिँदा हुँन्छ । युवालाइ अवसर दिउँ । धन्यवाद ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img