काठमाडौँ, शिक्षक सेवा आयोगले सामुदायिक विद्यालयका लागि १७ हजार २ सय ३२ स्थायी शिक्षक नियुक्ति गर्ने प्रक्रिया बढाएको छ । चार वर्षपछि शिक्षक नियुक्तिको विज्ञापन खुलाउन लागिएको हो । आयोगले बुधबार माध्यमिक तहमा १ हजार ५ सय ४७ जना शिक्षक लिन विज्ञापन प्रकाशन गर्दै छ ।
आयोगका अध्यक्ष मधुप्रसाद रेग्मीले पहिलो पटक अनलाइनबाट दरखास्त दिन सकिने व्यवस्था गरिएको बताए । यसअघि साविकको जिल्ला शिक्षा कार्यालयमा आवेदन लिइन्थ्यो । अर्को सातासम्म क्रमशः निम्न माध्यमिक र प्राथमिक तहको पनि विज्ञापन खुलाइने उनले बताए । ‘अनलाइनबाट पहिलो पटक दरखास्त संकलन गर्न लागिएकाले मावि, निमावि र प्राविको एकै दिन विज्ञापन गर्न सकिएन,’ उनले भने, ‘२÷४ दिनको फरकमा तीनै तहको विज्ञापन गर्ने कार्ययोजना बनाएका छौं ।’
मावि र निम्न माध्यमिक तहको विषयअनुसार प्रदेशगत रूपमा र प्राविको जिल्लागत रूपमा विज्ञापन गरिने आयोगले जनाएको छ । माध्यमिक तहमा १५ विषयका लागि दरखास्त आह्वान गरिँदै छ । सबैभन्दा बढी विज्ञान विषयको शिक्षकका लागि विज्ञापन गर्न लागिएको हो । निमावि तहमा २ हजार ५ सय ९६ र प्राविमा १३ हजार ८९ दरबन्दी रिक्त छ । यी पदका लागि विज्ञापन खोलिने आयोगले जनाएको छ । निमाविमा ११ वटा विषयका लागि विज्ञापन हुनेछ ।आयोगले नियमावली संशोधन गरेर सामान्य परीक्षा पास गरे मात्र विषयगत परीक्षामा सहभागी हुने व्यवस्था राखेको छ ।
यसअघि एक सय पूर्णाङ्कको मात्र लिखित परीक्षा हुन्थ्यो । ‘यस पटकबाट सय पूर्णाङ्कको सामान्य परीक्षा पास गरे मात्र अर्को सय पूर्णाङ्कको विषयगत परीक्षामा सहभागी हुन पाइनेछ,’ आयोगका प्रवक्ता सुदर्शन मरहठ्ठाले भने ।२ अंक भारका ५० वटा प्रश्नको सामान्य परीक्षामा कम्तीमा ५० अंक ल्याउने प्रतिस्पर्धीले मात्र विषयगत परीक्षामा सहभागी हुन पाउने व्यवस्था गरिएको छ । सामान्य परीक्षाको प्राप्ताङ्कको ५० प्रतिशत अंक विषयगतमा जोडेर लिखित परीक्षाको नतिजा प्रकाशन गरिनेछ । त्यसमा सफल हुने मात्र अन्तर्वार्तामा सहभागी हुन पाउँछन् । यसअघि धेरै अंक ल्याउनेलाई माग संख्याअनुसार अन्तर्वार्तामा सहभागी गराइन्थ्यो ।
आयोगले वार्षिक कार्ययोजना बनाएर मंसिरभित्र विज्ञापन आह्वान गर्ने कार्यतालिका बनाएको थियो । माध्यमिक तहको परीक्षा चैत १५ मा सुरु हुन्छ । आगामी असोज÷ कात्तिकसम्म शिक्षक नियुक्तिका लागि सिफारिस गरिसक्ने लक्ष्य लिइएको छ । दरबन्दी मिलान सुझाव कार्यदलले दुई वर्षअघि नै सामुदायिक विद्यालयमा ५८ हजार शिक्षक दरबन्दी अपुग रहेको प्रतिवेदन सरकारलाई बुझाएको थियो ।
यसबाहेक पनि अनिवार्य र स्वैच्छिक अवकाशका कारण हरेक वर्ष शिक्षक दरबन्दी रिक्त हुने गर्छ । यसअघि २०७४÷७५ मा विज्ञापन खुलेको थियो । त्यतिबेला करिब १२ हजार शिक्षक आयोगको परीक्षा पास गरेर स्थायी भएका थिए ।खुला प्रतिस्पर्धाबाट नियुक्ति गरिएलगत्तै १४ हजार २ सय ७० शिक्षकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गरिएको थियो । ७ लाखभन्दा बढी विद्यार्थी स्थायी अध्यापन अनुमतिपत्र (लाइसेन्स) लिएर बसेको तथ्याङ्क छ ।