काठमाडौं, सत्तारुढ गठबन्धनले एमसीसी सम्झौताबारे साझा धारणा बनाउन आइतबार कार्यदल बनाएको छ। कार्यदलमा नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनाल, कांग्रेस नेता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र माओवादी केन्द्र नेता नारायणकाजी श्रेष्ठ छन्।
मन्त्री कार्की एमसीसी सम्झौताका हस्ताक्षरकर्ता हुन्। खनाल र श्रेष्ठ एमसीसी संशोधन नभई कुनै हालतमा संसद्बाट अनुमोदन गर्न नहुने पक्षमा छन्। एमालेलगायत दलसँग छलफल गरी एमसीसीबारे ठोस निष्कर्षमा पुग्न कार्यदललाई जिम्मेवारी दिइएको माओवादी नेता श्रेष्ठले बताए।
प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले एमसीसी र संसद्को गतिरोध हटाउनेबारे छलफल गर्न आइतबार गठबन्धनको बैठक राखेका थिए। बैठकमा संसद्को चालू अधिवेशनबाटै एमसीसी अनुमोदन गर्नुपर्ने प्रस्ताव प्रधानमन्त्री देउवाले गरेका थिए। प्रस्तावमा गठबन्धनकै सहयात्री माओवादी र एकीकृत समाजवादी ले असहमति जनाएका थिए। अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँगको सम्झौता अनुमोदन गर्ने विषयमा सत्ता गठबन्धन दल एकमत देखिएका छैनन्। प्रधानमन्त्रीको आह्वानमा आइतबारै सर्वदलीय बैठकसमेत बसेको थियो। उक्त बैठकमा प्रमुख विपक्षी एमालेका प्रतिनिधि भने सहभागी भएनन्। कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, नेमकिपाका नेताहरू सहभागी थिए।
सञ्चारमन्त्री कार्कीले एमसीसी सम्झौता संसद्बाट अघि बढाउनुपर्ने प्रस्ताव बैठकमा राखेका थिए। सत्तासीन माओवादी केन्द्रका नेता श्रेष्ठ र एकीकृत समाजवादीका महासचिव वेदुराम भुसालले उक्त प्रस्तावलाई त्यहाँ पनि ठाडै अस्वीकार गरेको मन्त्री कार्कीले बताए।‘एमसीसीका विषयमा विरोधकै लागि विरोध गरेजस्तो देखिन्छ’, मन्त्री कार्कीले भने।
बैठकपछि माओवादी केन्द्र नेता श्रेष्ठले एमसीसी जबर्जस्ती संसद्मा पेस गर्ने विषय नभएको बताए। ‘संसद् अवरोध र एमसीसीबारे बैठकमा व्यापक छलफल भयो’, श्रेष्ठले भने, ‘यसमा संशोधनको विकल्प के हुन्छ भन्ने छ। जबरजस्ती पेस गर्ने विषय हैन। फेरि छलफल गरेर निष्कर्षमा पुग्ने सहमति भएको छ।’
कांग्रेस नेता डा. रामशरण महतले एमसीसी अनुमोदन गर्दा देशलाई कुनै घाटा नहुने धारणा बैठकमा राखेका थिए। ‘एमसीसीका विषयमा पहिला हामी नेतृत्व तहमा रहेका नेताहरूले नै बुझ्न र अध्ययन गर्न जरूरी छ,’ नेता डा. महतले भने, ‘पहिला पूरा अध्ययन गर्नुहोस् अनि विरोध गर्नुहोस् भनेर नेताहरूलाई भनेको छु। एमसीसी अनुमोदन गर्दा देशलाई कुनै घाटा हुँदैन।’ सदनमा एमसीसी छिर्न चारवटा सर्त पूरा गर्नुपर्ने माओवादी केन्द्र नेता देव गुरुङले बताए।
पार्टीको महामन्त्रीमा निर्वाचित भएपछि गगन थापा पहिलोपटक कांग्रेसबाट सर्वदलीय बैठकमा सहभागी भएका छन्। यसअघिका शीर्ष बैठकमा कांग्रेसबाट अन्य नेता सहभागी हुने गरेका थिए। यसपटक थापा पनि उपस्थित भएका हुन्।