काठमाडौँ, कोभ्याक्स सुविधा अन्तर्गत पछिल्लो चरणमा नेपाललाई ७७ लाख २५ हजार डोज कोभिड–१९ विरुद्धको खोप उपलब्ध भएको छ । जसमा ६०,३९,००० डोज कोभिशिल्ड र १६,८६,००० डोज मोडेर्ना खोप आपूर्ति भएको हो । यी खोप २९ नोभेम्बरदेखि २० डिसेम्बरभित्र आएका हुन् ।
खोपको अतिरिक्त ३० लाख थान सिरिन्जहरू, ८३,००० हजार थान सिरिन्ज सेफ्टीबक्स र दश थान विशिष्टकृत वाक इन कुलरहरू नेपाललाई हस्तान्तरण गरिएको छ । ती खोप, सामाग्री तथा उपकरणहरू देश भरीका प्रदेशहरू तथा नगरपालिकाहरूमा छिट्टै वितरण गरिने युनिसेफले जनाएको छ ।सिइपीआई, गावी, युनिसेफ र विश्व स्वास्थ्य संगठनको सहकार्यको रुपमा रहेको कोभ्याक्स सुविधा अन्तरगत खरिद गरिएका खोपको नेपालमा भएको आपूर्तिलाई संसारभरि कोभिड १९ खोपको समतामूलक वितरणको सुनिश्चितताको एउटा अंशको रुपमा लिन सकिने बिहीबार युनिसेफले एक विज्ञप्ति जारी गर्दै जनाएको छ ।
यस कोभ्याक्स सुविधालाई नेपालमा रहेका कोभ्यास सुविधा साझेदार राष्ट्रहरू (अष्ट्रेलिया, चीन, युरोपियन युनियन, फिनल्यान्ड, फ्रान्स, जर्मनी, जापान, कोरिया, नर्वे, कतार, साउदी अरेविया, स्विटजरल्यान्ड, बेलायत र अमेरिका) तथा विभिन्न दातृ सरकारी साझेदारहरू, प्रतिष्ठानहरू र निगमहरू रहेका छन् । उच्च तथा न्यून आय रहेका विश्वभरिकै देशहरूलाई सहज रूपमा कोभिड–१९ को खोप उपलब्ध हुने कुरा सुनिश्चित गर्नका लागि सरकारहरू तथा खोप उत्पादकहरूसँग सहकार्य गरिरहेको यो एक मात्र विश्वव्यापी सहकार्य हो ।
विश्वभरि नै खोप प्रति मानिसको विश्वास बढाउन, खोपप्रति निर्धक्क हुन सहयोगी हुने सञ्चार सामग्रीको प्रकाशन÷प्रसारण तथा गलत सूचनाको पहिचान गरी तिनलाई सम्बोधन गर्ने कार्यहरूको नेतृत्व युनिसेफले गरिरहेको छ ।शुक्रबारसम्म नेपालमा २ करोड २८ लाख ४० हजार १८९ खोपहरू लगाइसकिएको छ भने जसमध्ये ९९ लाख २७ हजार १२३ ले पूर्ण खोप पाइसकेका छन् र १ करोड २९ लाख १३ हजार ६६ जनाले एक मात्रा खोप पाएका छन् ।
युनिसफेले तयार पारेको भिडियोमा विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का नेपाल प्रतिनिधि डा. राजेश समबाजीरावले कोभ्याक्समार्फत हालै भएको खोपको ढुवानीका लागि नेपाललाई बधाई दिँदै डब्लूएचओका तर्फबाट सबै कोभ्याक्स साझेदारहरुलाई धन्यवाद व्यक्त गरेका छन् ।