काठमाडाैँ,कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा संघीय राजधानी काठमाडौं उपत्यकामै आइसोलेसन बेड अभाव भएको छ । राजधानीका कोभिड अस्पतालमा क्षमताभन्दा बढी संक्रमित भर्ना गरिएका छन् भने सक्रिय संक्रमितमध्ये आधाभन्दा बढी घरमै बसिरहेका छन् ।
अहिले काठमाडौं उपत्यकाका ११ अस्पतालमा कोरोना संक्रमितको उपचार भइरहेको छ । ती अस्पतालमध्ये पाँच अस्पतालमा क्षमताभन्दा बढी कोरोना संक्रमित उपचार गरिरहेका छन् । शनिबारसम्म देशभर सक्रिय संक्रमित आठ हजार सात सय १६ र उपत्यकामा एक हजार पाँच सय ७२ छन् । उपत्यकामा रहेका सक्रिय संक्रमितमध्ये सात सय ३५ जना मात्रै अस्पताल भर्ना भएका छन् । तीभन्दा बढी आठ सय ३७ जना अस्पतालबाहिरै अर्थात् घरमा छन् । तर, यो संख्या स्वास्थ्य मन्त्रालयसँग सूचीकृत छैन ।
शनिबारसम्म संक्रमित भर्ना भएका अस्पतालमा पनि क्षमताभन्दा एक सय १६ जना बढी भर्ना भएका छन् । त्रिवि शिक्षण अस्पताल महाराजगन्जका कोभिड संयोजक डा. सन्तकुमार दासका अनुसार अस्पतालमा २४ संक्रमित भर्ना भएका छन् । शिक्षण अस्पतालमा आठ शय्या मात्रै आइसोलेसनको सुविधा छ । ‘स्वास्थ्यकर्मी नै संक्रमित भएका छन् । जसले गर्दा पुराना शय्याको व्यवस्थापन गर्दै संक्रमित राख्दै आएका छौँ,’ डा. दासले भने ।
शिक्षण अस्पतालसँगै एपिएफ अस्पताल, कीर्तिपुर आयुर्वेद अस्पताल, धुलिखेल अस्पताल र नेपाल प्रहरी अस्पतालमा क्षमताभन्दा बढी संक्रमित भर्ना छन् । एक सय २० जना क्षमता रहेको एपिएफ अस्पतालमा एक सय ४८, सयजना क्षमता रहेको कीर्तिपुर आयुर्वेद असस्पतालमा एक सय ६९, आठजना क्षमता रहेको धुलिखेल अस्पतालमा २३ र पाँचजना क्षमता रहेको प्रहरी अस्पतालमा एक सय ६८ जना भर्ना गरिएको छ । अन्य अस्पतालमा पनि संक्रमितको संख्या बढ्दै गएको छ ।
कोरोना संक्रमितलाई राख्न सरकारले उपत्यकाका विभिन्न अस्पतालमा आइसोलेसन बेड तयार पारेको थियो । तर, त्यो संख्या ज्यादै न्यून भएको चिकित्सकहरूले बताएका छन् । जसले गर्दा संक्रमितले आइसोलेसन बेड पाउन सकेका छैनन् । एक हजार पाँच सय ७२ सक्रिय संक्रमित हुँदा आधाभन्दा बढी अस्पताल बाहिर हुनु दुःखद पक्ष भएको चिकित्सकले बताएका छन् । ज्यादै न्यून आइसोलेसन बेडका कारण संक्रमितले उपचार पाउन सकेका छैनन् । ३० लाखभन्दा बढी जनसंख्या भएको उपत्यकामा सानो संख्यामै संक्रमित व्यवस्थापन हुन नसक्दा आगामी दिनमा समस्या हुनेमा उनीहरूको चिन्ता छ ।
शनिबारसम्म उपत्यकामा संक्रमितको संख्या एक हजार सात सय ९४ पुगेको छ । जसमध्ये दुई सय १३ जना निको भएका छन भने सक्रिय संक्रमितको संख्या एक हजार पाँच सय ७२ रहेको छ । अहिलेसम्म कोरोनाबाट नौजनाको ज्यान गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयले गुहा¥यो निजी अस्पताल
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको उपचारका लागि निजी अस्पताललाई गुहारेको छ । सरकारी अस्पतालमा कोभिड शय्या बढाउनुको सट्टा निजी अस्पताललाई अनिवार्य रूपमा २० प्रतिशत शय्या कोभिडलाई छुट्याउन निर्देशन दिएको छ । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीले कोभिड अस्पताल भरिएकाले निजी अस्पताललाई संक्रमित पुष्टि भएमा आफैँ भर्ना गरेर आइसोलेसनमा राख्न निर्देशनात्मक परिपत्र गरेको बताए । नयाँ पत्रिकामा खवर छ ।