काठमाडाैँ,पहिरोले कर्णाली राजमार्गअन्तर्गत सुर्खेत–जुम्ला सडक ५ दिनदेखि अवरुद्ध भएको छ । सडकको झण्डै ३ सय ठाउँमा पहिरो खसेपछि राजमार्ग बन्द भएको हो । कर्णाली राजमार्गको कालीकोट–मान्मस्थित ताडीको तिला कर्णाली बुहमुखी क्याम्पस जाने सडकमा खसेको पहिरो । पहिरोका कारण कर्णाली राजमार्ग ५ दिनदेखि अवरुद्ध छ ।
प्रहरीका अनुसार कालीकोटको गगनेखोला, दहीखोला, कालेखोला, सेरीघाट, ताडी, पिलीभीरलगायत ठाउँमा ठूलो पहिरो खसेको छ । पहिरो निरन्तर बगिरहेकोले काम गर्न कठिनाइ भएको सडक डिभिजन कार्यालय, जुम्लाका प्रमुख लिलाबहादुर भण्डारीले बताए । उनका अनुसार कालीकोट र जुम्ला खण्डमा मात्रै ३ सय ठाउँमा पहिरो गएको छ ।अधिकांश ठाउँको पहिरो पन्छाए पनि कालीकोट खण्डको दहीखोलादेखि पिलीसम्मको पहिरो हटाउन नसकिएको उनले जानकारी दिए । सडक डिभिजनले ठाउँठाउँमा डोजर लगाएर पन्छाइरहेको छ ।
पन्छाएको ठाउँमा फेरि पहिरो खसेपछि राजमार्ग सुचारु गर्न समस्या भएको हो । ‘वर्षा भएको भयै छ,’ उनले भने, ‘जुम्लाबाट पहिरो पन्छाउँदै पिलीसम्म बाटो खुलाए पनि अरु ठाउँको अवरोधले गाडी चल्न सकेका छैनन् ।’उनका अनुसार पहिरोले सडक अवरुद्ध भएपछि सुर्खेतबाट कालीकोट, जुम्ला र मुगुका लागि दैनिक उपभोग्य तथा निर्माण सामग्री बोकेर आएका करिब १ सय गाडी ठाउँठाउँमा रोकिएका छन् । कर्णाली राजमार्गबाट गाउँ जोड्न स्थानीय तह र प्रदेश सरकारले निर्माण गरेका ग्रामीण सडक भत्किँदा पनि कर्णाली राजमार्ग हिलाम्मे बनेको हो । गगनेखोलाको पहिरोले सधैं दुस्ख दिने गरेको चालकहरुको गुनासो छ । ‘साघुँरो र अप्ठेरो कर्णाली राजमार्गबाट गाउँ जोड्ने सडकले पनि सडकको अवस्था बेहाल छ,’ चालक टेकबहादुर जिसीले भने, ‘जथाभावी खनेका सडकले जताततै पहिरो निम्त्याए ।’
कर्णाली राजमार्गको तिलागुफा–८ स्थित टाकुल्लाखोलामा ६ वर्षअघि ठेक्का सम्झौता भएको पक्की पुल निर्माण नहुँदा पनि यात्रुले सास्ती भोग्दै आएका छन् । ‘ठूलो पानी परेको बेला खोला बढेर सडक अवरुद्ध हुन्छ,’ स्थानीय जनक शाहीले भने, ‘राजमार्गको पहिरोले कतिपय ठाउँमा पैदल हिड्न पनि मुस्किल छ ।’ निरन्तरको वर्षाले अवरुद्ध सडक खुलाउन समस्या भएको प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरेले बताए । उनका अनुसार जिल्लाका अधिकांश गाउँ पहिरोको जोखिममा छन् । कालीकोटमा साउनयता बाढी–पहिरोमा परी ३१ जनाले ज्यान गुमाएका छन् भने करोडौंको क्षति भएको छ । कान्तिपुर दैनिकमा खवर छ ।