काठमाडौँ, नारयणहिटी दरबार संग्राहलयको परिसरमा रेस्टुरेन्ट सञ्चालन गर्न बतास समूहलाई दिएको विषयमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले छानबिन गर्न समिति गठन गरेको छ । मन्त्रालयले सहसचिव होप्रसाद लुईँटेलको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको हो ।
समितिलाई तीन दिनको म्याद दिई रायसुझावसहितको प्रतिवेदन तयार गर्न मन्त्रालयले निर्देशन दिएको हो ।समितिको सदस्यहरूमा मन्त्रालयका उपसचिवत्रय टेकनारायण पौडेल, सूर्यमणि गौतम, पुरुषोत्तम खतिवडा र सदस्य सचिवमा शाखा अधिकृत टंकबहादुर नेगी रहेका छन् । बिहीबार मन्त्रीस्तरको निर्णयले समिति गठन गर्न भनेको हो ।
शाहवंशीय राजाहरूले १ सय २२ वर्षसम्म शासन गरेको नारायणहिटी दरबार संग्रहालयलाई इतिहासका लागि संरक्षण गर्नुको सट्टा सरकारले परिसरभित्रको जग्गा र भवन व्यापारिक प्रयोजनका लागि भाडामा दिएको छ । महिनामा जम्मा २ लाख २१ हजार रुपैयाँ भाडा आउने निश्चित गरी संग्रहालयभित्र धमाधम संरचना निर्माण भएपछि पर्यटनमन्त्री प्रेम आलेले निर्माण कार्य रोक्न आदेश दिएका थिए ।संग्रहालयभित्र रोयल बगैंचा रेस्टुरेन्ट सञ्चालन गर्न प्रतिस्पर्धामा रहेका तीनै कम्पनी (बतास एसोसिएट्स, बीपीएस लिजिङ एन्ड म्यानेजमेन्ट र होटल आनन्द) बतास समूहका थिए ।