काठमाडौँ, केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएको साढे दुई वर्ष पूरा भएको र नेकपाभित्रको शक्ति संघर्षलाई व्यवस्थापन गर्न मन्त्रिपरिषद पुनः गठन हुने भएको छ। नेकपाभित्र झण्डै दु्ई महिनादेखि उत्कर्षमा पुगेको विवादलाई साम्य पार्न प्रधानमन्त्री केपी शर्मा ओली पहिलो चरणमा मन्त्री भएकाहरुलाई विदाइ गरेर नयाँ व्यक्तिलाई मन्त्रिपरिषदमा ल्याउने तयारी थालेका हुन्।
ओलीलाई प्रधानमन्त्रीमा कायमै राखेर मन्त्रिपरिषद् पुनः गठन गर्ने, महत्वपूर्ण नियुक्तिहरु पार्टीकै सल्लाहअनुसार गर्ने, प्रधानमन्त्री ओलीले कार्यशैली बदल्ने, महाधिवेशनको तयारी अघि बढाउनेलगायका विषयमा ओली दाहालबीच मोटामोटी सहमित भएपछि त्यसलाई व्यवस्थित बनाउन महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठित ६ सदस्यीय कार्यदलले काम गरिरहेको छ।
सोमबार बिहान बसेको स्थायी समिति बैठकले दुई अध्यक्षले गठन गरेको कार्यदललाई अनुमोदन गरेको छ। कार्यदलले प्रतिवेदन पेश गरेर त्यसलाई सचिवालयले अनुमोनद गरेर पार्टीभित्रको विवाद सकिए लगत्तै मन्त्रिपरिषद् हेरफेर गर्ने तयारी ओली दाहालले गरेका छन्।
को को बाहिरिन्छन् ?
स्रोतका अनुसार बाहिरिने मन्त्रीमा सुरुमै नियुक्त भएका र पछि नियुक्त भएका गरी मिश्रित हुनेछन्। उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा बादल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल, उर्जामन्त्री वर्षमान पुन, वनमन्त्री शक्तिबहादुर बस्नेत, अर्थमन्त्री युवराज खतिवडा र विना ओली नेतृत्वको क्याबिनेटमा सुरु देखि नै छन्।
बाहिरिनेमा पुरानालाई प्राथामिकता दिने बताइए पनि नेकपाभित्रको शक्ति संघर्षमा ओलीलाई साथ दिँदै आएका सचिवालय सदस्यहरु पोखरेल र थापालाई प्रधानमन्त्रीले निरन्तरता दिने पक्का छ। तीबाहेक पनि ज्ञवाली, पुन र बस्नेत नफेरिने निश्चित जस्तै रहेको स्रोत बताउँछ। पछि नियुक्त भए पनि कमजोर पर्फमेन्स भएका र पार्टीभित्रको शक्ति संघर्षमा भूमिका खेल्न नसक्नेहरु मन्त्रीबाट बाहिरिने छन्।
को को हुँदैछन् नयाँ मन्त्री ?
बाहिरने मन्त्रीको नाम लगभग निश्चित जस्तै भए पनि नयाँ बन्ने मन्त्रीको पनि लगभग टुंगो लागिसकेको छ। स्रोतका अनुसार विवाद समाधानका लागि गठित कार्यदलमा रहेका नेताहरु मध्येबाटै नयाँ मन्त्री छानिने संभावना अधिक छ।
कार्यदलमा महासचिव विष्णु पौडेल, भीम रावल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा, शंकर पोखरेल र पम्फा भुसाल छन्। शंखर पोखरेल ५ नम्बर प्रदेशका मुख्यमन्त्री हु्न् बाँकी पाँचै जना सांसद छन्। महासचिव पौडेलले अर्थ मन्त्रालयमा आँखा लगाएका छन् भने प्रधानमन्त्री ओलीले पर्यटनमन्त्री भट्टराईलाई सञ्चार मन्त्रालयको जिम्मेवारी दिने मनस्थितिमा पुगेका स्रोत बताउँछ। तर भट्टराईले सञ्चारमा जान इच्छा देखाएका छैनन्।