काठमाडौं,उपत्यका कोरोनाको हटस्पट बन्दै गएको छ। उपत्यकामा अहिलेसम्म दुई हजार १३४ जना सङ्क्रमित रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। उपत्यकामा बन्दाबन्दी खुलेपछि सङ्क्रमित दैनिक बढेको बढ्यै छ। हिजो मात्रै उपत्यकामा १ सय ६८ जनामा संक्रमण पुष्टि भएको थियो। सोमबारसम्म काठमाडौँ जिल्लामा एक हजार ७ सय ५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जानकारी दिए। त्यसैगरी ललितपुरमा २ सय ८२ जना र भक्तपुरमा १ सय ४७ जना रहेका छन्। उपचारपछि निको भएर घर फर्कनेको संख्या २ सय ४१ जना मात्र रहेको अधिकारीको भनाइ छ। यस्तै उपत्यकामा १० जनाको कोभिड–१९ को कारणले मृत्यु भइसकेको छ। उपत्यकामा अहिलेसम्म सक्रिय सङ्क्रमित एक हजार ८८३ जना रहेका छन्।
उपत्यकामा निषेधाज्ञा ?
कोरोना सङ्क्रमण दिन प्रतिदिन भयावह बन्दै गएपछि काठमाडौँ, ललितपुर र भक्तपुरका तीनवटै जिल्लामा पुनः बन्दाबन्दी वा निषेधाज्ञा जारी गर्ने विषयमा सम्बद्ध अधिकारी छलफलमा जुटेका छन् । कोरोना सङ्क्रमणबाट जोगिन नागरिक आफैँ सचेत र जागरुक नहुँदा उपत्यकामा जोखिम बढेको उल्लेख गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रवक्ता सहायक जिल्ला अधिकारी तुल्सीराम पौडेलले बन्दाबन्दी वा निषेधाज्ञाको विषयमा छलफल भइरहेको जानकारी दिए ।‘‘अहिलेकै अवस्थामा बन्दाबन्दी वा निषेधाज्ञा जारी गर्न जरुरी छैन,’’ उनले थपे, ‘‘मङ्गलबारबाट समूहगत हिँड्डुल, सामाजिक तथा भौतिक दूरी कायम राख्ने कार्यमा कडाइ गरिनेछ । सरकारबाट जारी स्वास्थ्य तथा सुरक्षासम्बन्धी मापदण्ड अनिवार्य गरिएको छ ।’’सवारी सञ्चालनमा जोर–बिजोर, मास्क र सेनिटाइजरको सही प्रयोग, होटल तथा रेस्टुराँ, चियापसल, पार्टी प्यालेस, पसल, सुपरमार्केट, सार्वजनिक स्थानमा सर्वसाधारणको उपस्थिति तथा भीडभाडलाई यसअघि नै पूर्ण रूपमा निषेध गरिएको छ ।
तर उपत्यकावासी मास्कसमेत प्रयोग नगरी सडकमा निस्कने, बिहे, जन्म दिन, धार्मिक चाडपर्वका नाममा आफन्त साथीभाइ जम्मा पारी समूहगत भोज भतेर र पार्टी गर्न थालेपछि कोरोना सङ्क्रमणको समस्या थपिएको भनाइ स्थानीय सुरक्षा अधिकारीको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।