मंगलबारदेखि उकालोतर्फ, सोमबार १८ वर्षमुनिका एक सय १६ बालबालिकामा देखियो संक्रमण
गत सातादेखि बालबालिकामा कोरोना संक्रमण उकालो लागेको छ । कोभिडको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फैलिएसँगै बालबालिकामा पनि दैनिक दोब्बरले संक्रमण बढिरहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार मात्रै १८ वर्षमुनिका एक सय १६ जना बालबालिका संक्रमित भएका छन् । ओमिक्रोन फैलिएसँगै देशभर बालबालिकामा पनि संक्रमण बढ्दै गएको हो । मन्त्रालयका अनुसार आइतबार ७५ जनामा संक्रमण देखिएको थियो । शनिबार ६७ जना संक्रमित भएका थिए ।
पछिल्लो २४ घन्टामा देशभर एक हजार चार सय ४६ जनामा संक्रमण देखिएको छ । कोभिडको दोस्रो लहरपछि दैनिक औसत २५ जनामा सीमित रहेको बालबालिकामा संक्रमण गत मंगलबारदेखि उकालो लागेको हो । गत सोमबार २२ बालबालिका संक्रमित भएका थिए । मंगलबार, बुधबार, बिहीबार र शुक्रबार क्रमशः ४२, ४२, ५७ र ४३ जनामा संक्रमण देखिएको छ । १२ वर्षमुनिका बालबालिका खोपको पहुँचमा नभएको र ओमिक्रोन बालबालिकामा बढी देखिने दरका कारण संक्रमण दिनानुदिन बढिरहेको चिकित्सकहरूले अनुमान गरेका छन् ।
हालसम्म १२ देखि १८ वर्ष उमेर समूहका ३४ लाख २५ हजार चार सय आठ बालबालिकाले खोपको पहिलो मात्रा लगाएका छन् । संक्रमण बढेसँगै बालबालिका खोप कार्यक्रममा तीव्रता दिइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मंगलबारदेखि काठमाडौं उपत्यकामा बालबालिकालाई फाइजर र मोडर्ना खोप दिन लागिएको छ ।
देशभरका ३५ हजार विद्यालयमा १९ दिन बिदा
कोरोना संक्रमण तीव्र रूपले बढ्न थालेपछि शिक्षा मन्त्रालयले विद्यालय तहका शैक्षिक कार्यक्रम बन्द गरी देशभरका करिब ३५ हजार विद्यालयमा बिदा दिने निर्णय गरेको छ । मन्त्रालयले विद्यार्थीको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै १५ माघसम्म बिदा दिने निर्णय गरेको हो । विश्वविद्यालयको पठनपाठनका विषयमा भने कुनै निर्णय भएको छैन । परीक्षाका कार्यक्रम भने जनस्वास्थ्य मापदण्ड अपनाएर सञ्चालन गर्ने बताएको छ ।

















