काठमाडौँ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आइतबार पशुपति परिसरमा बनाइएको धर्मशाला निरीक्षण गरेका छन् ।निरीक्षणपछि मन्त्री आलेले बतास समूहले अनुमति नलिइकनै काम गरेको पाइएको बताएका हुन् ।पशुपति क्षेत्र विकास कोषका पदाधिकारी र छानबिन समितिका सदस्यहरुसहित अनुगमनमा पुगेका मन्त्री आलेले धर्मशालाका कतिपय कोठाहरु निजीलाई दिइएको र कतिपय काम पशुपति क्षेत्र विकास कोषसँग अनुमति नलिइकनै गरिएको पाइएको बताए ।
उनले टेन्डर निकाल्ने बेला पनि पशुपति क्षेत्र विकास कोषको परिषद्को बैठकबाट यो अनुमोदन नगरेको पाइएको बताए ।मन्त्री आलेले भने, ‘अनुगमन गरियो, कतिपय कोठाहरु प्राइभेटलाई दिइएको रहेछ । त्यो दिनै नमिल्ने कामहरु भएको रहेछ । कतिपय पशुपति क्षेत्रविकास कोष समितिसँग अनुमति लिएर गर्नुपर्ने कामहरु पनि नगरिएको देखियो ।
सबैभन्दा पहिलो त यो टेन्डर निकाल्ने बेला पनि पशुपति क्षेत्रविकास कोषको परिषद्को बैठकबाट यो अनुमोदन हुनुपर्दो रहेछ । त्यो समेत नभएको, थुप्रै त्यस्ता कामहरु देखिएका छन् । भोलि हाम्रो प्रतिवेदन आउँछ, त्यसपछि त्यही आधारमा हामी अघि बढ्छौं ।’मन्त्री आलेले सोमबार छानबिन समितिले प्रतिवेदन बुझाउने र सोही प्रतिवेदनको आधारमा कुरा अघि बढ्ने बताए ।