काठमाडाैँ,रौतहटमा एक जना पुजारीलाई गोली हानी हत्या गरिएको छ । बुधबार राति माधवनारायण नगरपालिका –२, खेसरहियास्थित हनुमान मन्दिरका पुजारी श्रीराम साहलाई अज्ञात समूहले गोली हानी हत्या गरेको प्रहरीले जनाएको छ ।
राति करिब सावा ९ बजे खाना खाइरहेको बेला पुजारी साहलाई एक व्यक्तिले गोली हानेपछि घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाका इन्चार्ज डीएसपी ज्ञानकुमार महतोले जानकारी दिए । अहिलेसम्म हत्याको कारण पत्ता नलागेको बताउँदै डिएसपी महतोले बिहीबार बिहानै अपराध अनुसन्धानमा सघाउने कुकुर सहित विशेषज्ञ टोली बोलाइएको जनाए । “हत्यारालाई त जसरी पनि पक्राउ गरिन्छ” महतोले भने, “घटनावारे जानकारी प्राप्त भएदेखि हाम्रो टोली निरन्तर सक्रिय छ ।” एउटा हत्या घटनामा संलग्न अपराधीलाई कानुनी दायरामा ल्याउन नपाउँदै अर्को हत्या घटनाले जिल्लाको सुरक्षा अवस्थामा चुनौति थपिएको छ ।