काठमाडाैँ,नेपाल प्रहरीका एसएसपी अशोक सिंहमाथि चेक अनियमितताको आरोपमा छानबिन सुरु भएको छ। महानगरीय प्रहरी परिसर काठमाडौंको प्रमुख हुँदा चेक अनियमिततामा मिलेमतोको आरोप लागेपछि प्रहरी प्रधान कार्यालयले छानबिन समिति गठन गरेको हो। डीआईजी राजेशलाल कर्णको संयोजकत्वमा गठित छानबिन समितिमा एसपी आभूषण तिम्सिना र डीएसपी सन्तोष तामाङ छन्। महानगरीय प्रहरी परिसर काठमाडौंका एक सिनियर अधिकारीको भनाई मान्ने हो भने उक्त छानबिन नियोजित हो ।
सिन्धुलीका राजकुमार बरालले हराएको खाली चेकमा २ करोड २९ लाख रुपैयाँ भरेर रकम हत्याउने उद्देश्य राखेको भन्दै एसएसपी सिंहविरुद्ध गृह मन्त्रालयमा पुस ९ गते उजुरी गरेका थिए। सिंह उक्त चेक मिलाईदिने भन्दै केहि पत्रकार र बिचौलिया नै परिसर नै पुगेका थिए । उक्त स्वार्थ समूहले भनेको सिंहले नमानेपछि उनीविरुद्ध सुनियोजित कहानी रचिएको उक्त स्रोतले बतायो । सिंहले भने जसको चेक हो उसैलाई दिने भनेपछि स्वार्थ समूहको योजना लथालिङ्ग भएको हो । सिंहलाई आरोप लगाउने व्यक्ति समेत विवादित पृष्ठभूमी र मिटर ब्याजी भएको उनको भनाई छ ।
गृह मन्त्रालयले छानबिन गर्न निर्देशन दिएपछि प्रहरी प्रधान कार्यालयले छानबिन समिति गठन गरेको हो। गृह मन्त्रालय सिंहको विरुद्ध लाग्छ भने दृष्टान्त त केहि महिना पहिला देखिएकै हो । परिसरमा सिंह हुँदासम्म आफ्नो रोटी नसकिने देखिएपछि गृहमन्त्री बालकृष्ण खाडले समय नपुग्दै सिंहको सरुवा गराएका थिए ।
मदिरा पिएर तास खेल्ने क्रममा आफ्नो चेक हराएको र झापाको सुवास भेटवालले लगेको उजुरीमा उल्लेख छ। बैंक अफ काठमाण्डू कमलादी शाखाको ७ थान चेक हराएको भन्दै बरालले महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वर र प्रहरी परिसर काठमाडौंमा उजुरी दिएका थिए। उजुरीपछि भेटवाललाई बोलाएर अनुसन्धान गर्दा ७ थान चेकमा २ करोड २९ लाख रुपैयाँ रकम भरेको पाइएको थियो। भेटवालले तास खेल्ने क्रममा उक्त चेक बराबरको रकम जितेको थिए।
उक्त प्रकरणका बारेमा एसएसपी सिंहले भने, ‘राजकुमार बरालले चेक आफैँ इस्यु गरेको रहेछ, उसले चेक दिएको सीसीटीभी फुटेज पनि छ, उसले चेक नष्ट गर्न खोजेको थियो, त्यो नपाइसकेपछि मेरो बदनाम गर्न खोजिएको हो। तर हेडक्वार्टरले छानबिन थालेको छ सत्य कुरा बाहिर आउने नै छ।’
आफूलाई पीडित बताउने बराल समेत मिटरब्याजी, जुवा खेलाउने र जग्गा दलाल रहेको एसएसपी सिंहले बताए। आफूले सुरुदेखि नै यसमा भएका सबै कामबारे माथिल्लो निकायमा जानकारी गराएको र माथिको आदेशअनुसार नै काम गरेको एसएसपी सिंहको भनाइ छ। साभार कान्तिपथ अनलाइनबाट