काठमाडौं,भारतको मध्य प्रदेशमा बनेको न्यून चापीय क्षेत्रको सामान्य प्रभाव नेपालमा पनि देशभर परेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल मनसुनी न्यून चापीय रेखा नेपालको दक्षिणतर्फ अवस्थित छ ।
विभागका अनुसार बिहीबार (आज) बिहान देशभर आंशिक देखि सामान्य बदलीको अवस्था रहेको छ भने प्रदेश १, प्रदेश ५ र कर्णाली प्रदेश तथा आसपासका भूभागका केही स्थानमा वर्षा भइरहेको छ ।आज दिउँसो देशभर सामान्यतया बदली रही धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले बताएको छ ।
यस्तै आज राति राती देशभर सामान्य बदली रही प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका केही स्थानमा र बाँकी प्रदेशको थोरै क्षेत्रमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
विभागले बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।
विभागले भारी वर्षाको सम्भावना रहेका क्षेत्रका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।