काठमाडौं,कोभिड संकट व्यवस्थापन समन्वय केन्द्र ( सीसीएमसीसी ) ले ट्याक्सीबाहेकका सार्वजनिक सवारी साधनबाट जोर बिजोर प्रणाली हटाउन सिफारिस गरेको छ । सीसीएमसीसीले मन्त्रिपरिषद् बैठकबाट निर्णय गरेर सार्वजनिक सवारीको जोर बिजोर प्रणाली हटाउन सिफारिस गरेको हो । सार्वजनिक सवारीमा भिड बढ्दा झनै जोखिम पनि बढेकाले जोरबिजोर प्रणाली हटाउने निर्णय भएको सीसीएमसीसीले जनाएको छ ।
निजी र ट्याक्सीबाहेकका सार्वजनिक सवारीबाट जोर–बिजोर हटाउन सिफारिस गर्ने निर्णय भएको सीसीएमसीसीकी प्रवक्ता सुनिता नेपालले जानकारी दिइन् । ‘जिल्ल्ला कोभिड संकट व्यवस्थापन केन्द्र ( डीसीसीएसी )ले आफैं पनि जोर–बिजोर हटाउन सक्छ,’ उनले भनिन्, ‘प्रत्येक जिल्लालाई निर्देशन दिन नसकिने भएकाले हामीले मन्त्रिपरिषदमा सिफारिस गरेका हौं ।’
सीसीएमसीले आगामी माघ मसान्तसम्म विद्यालय बन्द गर्न सिफारिस गरेको छ । शुक्रबार बसेको सीसीएमसीसीको बैठकले सो निर्णय गरेको सीसीएमसीसीकी प्रवक्ता सुनिता नेपालले बताइन् । उनका अनुसार भर्चुअल माध्यममार्फत पठनपाठन गर्न दिने गरी सिफारिस भएको छ । यसअघि सरकारले माघ १५ गतेसम्म विद्यालयमा भौतिक उपस्थितिमा पठनपाठन गर्न रोक लगाएकोमा यो अवधि लम्ब्याएर माघ मसान्तसम्म पुर्याइएको हो ।