काठमाडौँ, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षा मन्त्रालय मातहत रहेका सरकारको भौतिक सम्पत्ति निजी क्षेत्रलाई प्रयोग गर्न नदिने बताएका छन् ।केशर महलको निरिक्षण गर्दै आइतबार मन्त्री पौडेलले महल परिसरमा रहेको जमिन निजी क्षेत्रलाई प्रयोजनका लागि नदिने बताएका हुन् । उनले विभिन्न सञ्चार माध्यमहरूमा केशर महल बाहिरको जग्गा निजी क्षेत्रलाई निजी प्रयोजनका लागि दिन खोजेको भन्ने समाचार प्रकाशित भएको भन्दै महलको निरीक्षण गरेको बताए । उनले सरकारी संरचनाहरू नियमविपरीत निजी क्षेत्रलाई प्रयोगमा दिएको पाइएमा कानुनअनुसार कारबाही गरिने पनि बताए ।
उनले भने, ‘केशर महल ऐतिहासिक स्थान हो, जतिबेला नेपालमा शिक्षामा विकास हुन थाल्यो‚ त्यति बेला नै केशर महल शिक्षासँग सम्बन्धित भवनको रुपमा छ । यहाँ निक्कै ऐतिहासिक र पुरातत्त्विक विषयहरूको संग्रह गरेर राखिएको छ ।’यो भूकम्पले केहि क्षति गराएपछि भवन बन्ने प्रक्रियामा भएको र केहि छिटो बन्नुपर्नेमा ढिलो भएको भन्दै मन्त्री पौडेलले यहाँ भएका भौतिक वस्तुहरू‚ खासगरी पुरातत्वसँग सम्बन्धित वस्तुहरूको सुरक्षा, संरक्षण, पुराना पुस्तकहरूको संरक्षणको विषयमा अहिले मन्त्रालय मातहत भएकाले यसको स्वरुप र प्रकृति हेर्न आफू आएको बताए ।मन्त्री पौडेलले महलको पुनर्निर्माणमा ढिलाइ हुँदा मन्त्रालयसँग सम्बन्धित कतिपय कामहरू व्यवस्थित गर्नका लागि भौतिक ठाउँहरूको अभाव भएको समेत बताए ।
२०७२ सालको भूकम्पबाट क्षतिग्रस्त महलको पुनर्निर्माणको काम चलिरहेको छ । केशर महलको पुनर्निर्माणपछि त्यहाँको संरचनालाई कसरी प्रयोग गर्ने भन्नेबारेमा सुझाव दिन गठित कार्यदलले तयार पारेको अध्ययन प्रतिवेदन प्रारुपबारेको छलफलअनुसार स्वप्न बगैँचा विकास समितिलाई केशर महल विकास समिति बनाउने निर्णय गरेको छ । यस्तै त्यहाँको भौतिक संरचनालाई व्यापारिक कार्यमा प्रयोग गर्ने प्रतिवेदनको मस्यौदामा समावेश गरिएको बताइएको छ । केशरमहल ३४ रोपनी, दुई आना, एक पैसा, तीन दाम क्षेत्रफलमा फैलिएको छ भने त्यहाँ रहेको स्वप्न बगैँचा आठ रोपनी क्षेत्रफलमा रहेको छ ।