spot_img

चुनावको मिति सरकारले कहिले तोक्छ ?

spot_img

काठमाडौँ, एमसीसी पास गर्ने विषयले सत्ता गठबन्धनमा हलचल ल्याएपछि तत्काल स्थानीय तह निर्वाचनको मिति घोषणामा अलमल देखिएको छ । सरकारले तीन दिन अघि नै निर्वाचन आयोगसँग निर्वाचनको मितिबारे परामर्श लिएर समझदारी बनाएपनि मिति भने घोषणा गरेको छैन ।प्रधानमन्त्री शेरबहादुर देउवाले आयोगसँगको छलफलकै क्रममा २०७९ जेठ ४ गते स्थानीय तहको निर्वाचन गर्ने भन्दै त्यसकालागि तयारी अघि बढाउन निर्देशन दिएका थिए । तर बिहीबारसम्म पनि मन्त्रिपरिषद्ले चुनावको मिति घोषणा गरेको छैन । आयोग भने निर्वाचनको मिति कुरेर बसेको छ ।

सामान्यतः सोमबार र बिहीबार मन्त्रिपरिषद्को बैठक बस्ने हो । त्यसआधारमा बिहीबार चुनावको मिति घोषणा हुने आकलन थियो । तर, गठबन्धन दलहरूको ध्यान एमसीसीतिर तानिएपछि बिहीबार मन्त्रिपरिषद्को बैठक बस्ने तयारी नै छैन ।प्रधानमन्त्री देउवा एक महिनाभित्रै संसदबाट एमसीसी पास गराउन अग्रसर छन् । तर, सत्ता साझेदार दलहरू त्यसका लागि तयार छैनन् । त्यहीकारण गठबन्धनभित्रै चुनावको मिति सौदाबाजीको विषय बनेको छ । गठबन्धनको उल्झनका कारण सरकारले निर्वाचनको मिति तोक्न ढिलाई गरिरहेको छ ।

पार्टी विभाजन र गठनका कारण गठबन्धनका दुई घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल स्थानीय तहको निर्वाचनलाई असोजपछि सम्म धकेल्न चाहन्थे । त्यहीकारण आयोगले यसअघि बैशाखमा प्रस्तावित मितिमा स्थानीय चुनाव गर्ने वातावरण बनेन ।दाहाल र नेपालको चाहनाबमोजिम प्रधानमन्त्री देउवाले हालको स्थानीय तह निर्वाचन ऐनको व्यवस्थालाई संशोधन गरेर चुनाव गर्ने तयारी गरेका थिए । तर, त्यसको चौतर्फी विरोध भएपछि गठबन्धनको गत शनिबार बसेको बैठकले आवश्यक परे कानुन संशोधन गरेर भएपनि जेठमै स्थानीय तहको चुनाव गर्ने सहमति गरेको थियो ।

गठबन्धनको त्यो सहमतिका आधारमा प्रधानमन्त्री देउवाले कानुनमा संशोधन गर्नु नपर्ने गरी जेठ ४ मै स्थानीय तहको निर्वाचन गर्ने समझदारी बनाएका हुन् । तर, गठबन्धनभित्रै चुनावको मिति जेठ अन्तिम सातातिर तोक्नुपर्ने माग समेत उठेको छ । ‘आयोगसँगको छलफलले जेठ ४ गते निर्वाचन गर्ने समझदारी बनिसकेको छ । त्यहीअनुसार तयारी अघि बढाउन प्रधानमन्त्रीज्यूले निर्देशन समेत दिइसक्नुभएको छ,’ एक मन्त्रीलेभने, ‘तर तत्काल मिति तोक्न केही बाधा अवरोधहरु भइरहेका छन् ।’

स्थानीय तहका जनप्रतिनिधिको पदावधि आगामी जेठ ५ गते सकिदैछ । त्यसअनुसार आयोगले जेठ ५ भित्र निर्वाचन गर्दा अहिलेको कानुनमा संशोधन समेत आवश्यक नहुने सुझाव दिएपछि देउवा जेठ ४ मा स्थानीय तहको निर्वाचन गर्ने वातावरण बनाउन लागिपरेका थिए ।देउवाको सचिवालयका अनुसार जेठ ४ मा निर्वाचन गर्ने सहमति भइसकेको छ । तर, घोषणा गर्नका लागि मन्त्रिपरिषद् बैठक बस्नुपर्छ । ‘मिति त लगभग सहमति भएको हो । तर, घोषणा गर्ने मन्त्रिपरिषद् बैठकले हो, आज बैठक बस्ने तयारी छैन, सायद सोमबारसम्म हुनसक्छ,’ प्रधानमन्त्रीको सचिवालयले भनेकोछ।

देउवानिकट अर्का एक नेताले भने निर्वाचनको मिति तोक्ने विषयमा गठबन्धनभित्र एमसीसी संसदमा पेश गर्ने सौदाबाजीको विषय बनेको बताए । ‘गठबन्धनभित्र एमसीसी पास गर्ने विषय छलफलमा छ । तत्काल एमसीसी पास गर्ने भए चुनाव सार्नुपर्ने वा चुनाव अघि एमसीसी पास गर्न नहुने जस्ता तर्कहरु गठबन्धनभित्र उठिरहेका छन्,’ ती नेताले भने, ‘त्यहीकारण केही अलमल भएको हुनसक्छ ।’स्थानीय तहको निर्वाचनका लागि सामान्यतः १२० दिन निर्वाचन अवधि आवश्यक पर्ने कानुनी व्यवस्था छ । जबकि सरकार र आयोगबीच समझदारी बनेको जेठ ४ का लागि अब १०३ दिनमात्रै बाँकी छ । आयोगले धेरै जसो पूर्वतयारीहरु भइसकेकाले अब सरकारले मिति घोषणा गर्ने बित्तिकै बाँकी तयारी अघि बढाउने जनाएकोछ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेल आयोग स्थानीय तह निर्वाचनको मिति कुरेर बसेको बताउँछन् । ‘आयोगले सरकारलाई जेठ ४ मा निर्वाचन गर्न सुझाव दिएको छ, निर्वाचन अवधि कम भए पनि संविधानको मर्मअनुसार निर्वाचन गराउन आयोग तत्पर नै छ,’ उनले भने ।प्रवक्ता शर्माले आयोगले निर्वाचनको मिति घोषणाअघि हुने सबै तयारी गरिसकेको बताए । ‘मिति नहुँदा पनि गर्न मिल्ने तयारीका काम लगभग भइसकेका छन् । हामी त चुनावको तयारीका लागि तत्पर भएर बसेका छौँ, अब सरकारले मिति दिएपछि त्यहीअनुसार अन्य तयारी अघि बढाउँछौँ,’ उनले भने ।

संविधानको धारा २१५ (६) र धारा २१६ (६) ले स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल ५ वर्ष तोकेकाले पदावधि सकिनुअगावै चुनाव गराउनुपर्ने बाध्यात्मक व्यवस्था छ । त्यसआधारमा जेठ ४ मा निर्वाचन नभए सरकारले ऐनको सो व्यवस्थालाई संशोधन गर्नुपर्ने हुन्छ ।सरकारले निर्वाचनको मिति तोक्नसाथ कार्यतालिका सार्वजनिक गर्ने गरी तयार रहेको आयोगले जनाएको छ । यसपटक ७५३ वटै स्थानीय तहको निर्वाचन एकै पटक गर्ने सरकार र आयोगको तयारी छ । अघिल्लो पटक ०७४ मा भने तीन चरणमा निर्वाचन भएको थियो ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img