काठमाडौं, सत्तारुढ नेपाली कांग्रेसको केन्द्रीय पदाधिकारीको बैठक आज बस्दैछ । सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा भने बैठकमा सहभागी नहुने बताइएको छ। बैठक केन्द्रीय कार्यालय सानेपामा मंगलबार दिउँसो बस्न लागेको हो ।
कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले अनौपचारिक रुपमा सभापति देउवाको अनुपस्थितिमा बैठक बस्न लागेको जानकारी दिए । उनले भने, ‘स्थानीय तहको निर्वाचन तयारी, सह–महामन्त्री मनोनितका विषयमा छलफल गर्दैछौं । बिहीबार बस्ने कार्यसम्पादन समितिको बैठकका विषयमा एजेण्डा तय गर्नेछ ।’
सभापति देउवाले आगामी बिहीबारका लागि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन् । कार्यसम्पादन समिति बैठकमा म्याद समाप्त भएका भ्रातृ एवम् शुभेच्छुक संस्थाहरू र जिल्ला अधिवेशन हुन बाँकी रहेका जिल्लाहरूका छलफल हुने जनाइएको छ।