काठमाडौं,ओमान जान लागेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाई गरिएको छ। आईसीसी टी–२० विश्वकप ग्लोबल क्वालिफायरमा सहभागिता जनाउन ओमान जान लागेको नेपालीटोलीलाई बिदाई गरीएको हो।युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले मंगलबार ओमान जान लागेको नेपाली टोलीलाई बिदाइ गरेका हुन्। गहतराजले भर्चुअल माध्यमबाट खेलाडीहरुलाई बिदाइ गरेका हुन्।
कोरोना संक्रमण जोखिमका कारण नेपाल क्रिकेट संघ (क्यान)ले भर्चुअल माधयमद्धारा बिदाइ कार्यक्रम आयोजना गरेको हो। विश्वकपमा छनोटका लागि हुने खेलका लागि नेपाली टोली आज मंगलबार साँझ ६ः३० बजे ओमान प्रस्थान गर्ने तालिका रहेको छ।
खेलाडीहरुलाई बिदाइ गर्दै मन्त्री गहतराजले विश्वकपका लागि ग्लोबल छनोट भएर आउन शुभकामना दिएका छन्। नेपाली क्रिकेट क्षेत्रले छोटो समयमै उल्लेख्य प्रगती गरेको भन्दै मन्त्री गहतराजले यस पटक विश्वकपकालागि नेपाली टोली छनौट हुनेमा आफू विश्वस्त रहेको बताए। नेपाली विरता सम्झीएर खेल्न समेत मन्त्री गहतराजले खेलाडीहरुलाई आग्रह गरे।
क्यानका अध्यक्ष चतुर बहादुर चन्दले बिगतमा देखिएका कमिकमजोरीलाई सच्याउँदै क्रिकेटको विकासका लागि सबै एक हुनुपर्नेमा जोड दिए। साथै खेलाडीहरुलाई उच्च मनोवलकासाथ उत्कृष्ट खेल प्रदर्शनकालागि समेत शुभकामना दिएका छन्।
बिदाइ कार्यक्रममा युवा तथा खेलकुद मन्त्रालयका सचिव डा दामोदर रेग्मी, नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक पुबुदु दासानायके, राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष शिव कोईराला लगायतको उपस्थिती रहेको थियो।
ओमान जाने नेपाली टोली ः
खेलाडी ः सन्दीप लामिछाने (कप्तान), कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, दिपेन्द्र सिंह ऐरी, शरद भेषवाकर, करण केसी, आरिफ शेख, कुशल मल्ल, आसिफ शेख, कमल सिंह ऐरी, शाहब आलम,अविनाश बोहरा, प्रदिप ऐरी, जितेन्द्र कुमार मुखिया, विवेक यादव, लोकेश बम, सागर ढकाल
अफिसियल ः
सुमन राज कार्की – टिम म्यानेजर
पुबुदु दसानायके – मुख्य प्रशिक्षक
धम्मिका प्रसाद – बलिङ कन्सल्टेन्ट प्रशिक्षक
रमण सिवाकोटी – टेक्निकल एनालिस्ट
बिक्रम न्यौपाने – फिजियो