काठमाडौंःविश्वकै सर्वोच्च शिखर सगरमाथाको देश भनेर कहलिएको छ नेपाल । नेपालले सगरमाथाको उचाइ भने पहिलो पटक मापन गरेको छ । हालसम्म नेपालले अरू नै देशले गरेको मापनलाई मान्दै आएको थियो ।
सगरमाथा उचाइ मापन सचिवालयका संयोजक सुशील डंगोलले उचाइ नाप्ने काम सकिएको जानकारी दिए । ‘उचाइ घोषणाका लागि चीनसँग समन्वय भइरहेको छ’, सहसचिव डंगोलले भने । चीनसँग संयुक्त रूपमा उचाइ घोषणा गरिने उनको भनाइ छ । उनले नयाँ उचाइ कति भनेर खुलाएनन् ।
नापी विभागले असार मसान्तभित्र अन्तर्राष्ट्रिय कार्यशाला गरी उचाइ घोषणा गर्ने तयारी गरेको थियो । तर, लकडाउनका कारण तथ्यांक प्रशोधन प्रभावित भयो । अब भने प्रशोधनसहित सम्पूर्ण काम सकिएको संयोजक डंगोलको भनाइ छ । ‘लकडाउनका सुरुआती दिनमा काम केही प्रभावित भयो तर अहिले सकेका छौ’, उनले भने, ‘चीनसँग संयुक्त रूपमा घोषणा गर्ने सहमतिले गर्दा केही समय लेला ।’ चीनका तर्फबाट पनि मापनको काम भइरहेको उनले बताए ।
चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल आउँदा दुवै देशका राष्ट्रप्रमुखको संयुक्त वक्तव्यमा सगरमाथाको उचाइ घोषणा संयुक्त रूपमा गर्ने उल्लेख थियो । चिनियाँ राष्ट्रपति चिनफिङ र नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीको संयुक्त वक्तव्य सन् २०१९ अक्टोबर १३ मा आएको थियो । वक्तव्यको बुँदा नम्बर ८ मा लेखिएको छ, ‘सगरमाथा÷चोमोलङमा नेपाल र चीनको मित्रताको प्रतीक हो भन्ने मान्यतालाई स्वीकार गर्दै दुवै पक्षले जलवायु परिवर्तनलाई सम्बोधन गर्ने र वातावरण संरक्षणलगायत विभिन्न क्षेत्रमा सहयोग बढावा दिनेछन् । संयुक्त रूपमा सगरमाथा÷ चोमोलङमाको उचाइ घोषणा गर्नेछ र वैज्ञानिक अनुसन्धान गर्नेछ ।’
कहिलेदेखि मापन भयो सगरमाथाको उचाइ
संसारकै अग्लो शिखरको उचाइ १ सय ७० वर्षअघि पहिलो पटक मापन गरिएको थियो । ब्रिटिस सर्भे अफ इन्डियाले सन् १८४९ मा ८,८४०.५० मिटर उचाइ निर्धारण गरेको थियो । तर, त्यति बेला पुरानो प्रविधि प्रयोग भएको थियो । इतिहासकार बाबुराम आचार्यले संसारको अग्लो शिखरको नाम सगरमाथा राखेका हुन् ।
इस्ट इन्डिया कम्पनीका डाइरेक्टर जनरल इन्जिनियर जर्ज एभरेस्टले सन्
१९४९ देखि १९५२ सम्म लगाएर सगरमाथाको उचाइ मापन गरे । उनले सगरमाथाको उचाइ ८,८४० मिटर भएको तथ्य पेस गरे । उनै जर्ज एभरेस्टका नाममा विश्वभर सगरमाथाको नाम माउन्ट एभरेस्ट रहन गएको हो ।
सर्भे अफ इन्डियाले सन् १९५४ मा सगरमाथाको उचाइ मापन गरेको थियो । पीएल गुलाटीले करिब दुई वर्ष लगाएर गरेको उक्त मापनमा उचाइ ८,८४८ मिटर आयो । अहिलेसम्म त्यसलाई आधिकारिक मानिँदै आएको छ । यसलाई गुलाटी सर्भे पनि भनिन्छ ।
चीनले सन् १९७५ मा मापन गर्दा ८,८४८.१३ मिटर उचाइ आएको थियोे । चीनले ८,८४८ मिटरलाई मान्दै आयो ।इटालियनले सन १९९२ मा मापन गर्दा ८,८४८.६५ मिटर उचाइ कायम भएको थियो । इटालियनले दोस्रो सर्वोच्च शिखर केटूको मापन गरेको थियो ।
अमेरिकाले सन् २००० मा ८,८५० मिटर उचाइ रहेको उल्लेख गरेको थियो । चीनको नेसनल ब्युरो अफ सर्भेइङ एन्ड म्यापिङले सन् २००५ मा ८,८४४.४३ मिटर उचाइ मापन गरेको थियो । नापीका पूर्वउपमहानिर्देशक श्रेष्ठका अनुसार हिउँभित्र चट्टानसम्म नाप्यो, हिउँ र सतहको मोटाइलाई नापेको थिएन । हिउँ र सतहको मोटाइ जोड्न लगभग मिल्थ्यो, त्यसमा चीन पनि सहमत थियो । अन्नपूर्ण पाेष्टमा खवर छ ।