काठमाडौं,नेकपा एकीकृत समाजवादी पार्टीले एमालेको अवरोध रहे वा नरहे पनि संसदमा एमसिसी टेबल गर्न दिनुपर्ने निर्णय गरेको छ।शनिबार बसेको स्थायी कमिटीको बैठकले एमसिसी प्रतिनिधि सभामा छलफल गर्न आवश्यक रहेकाले संसदमा टेबल हुन दिनुपर्ने निर्णय गरेको स्थायी सदस्य एवं सहरी विकास मन्त्री रामकुमारी झाक्रीले बताइन् ।
एमालेले अवरोध हटाउन दिए भने मात्र टेबल गर्न दिने भन्ने छ नि? भन्ने प्रश्नमा उनले भनिन्, ‘एमालले टेबल गर्न दिन्छ÷दिन्न उसको कुरा हो। एमालले के गर्छ वा हामीले के गर्छौं भन्ने हाम्रो निर्णय हो। एमालेले जे गरे पनि हामीले संसदमा टेबल गरेर त्यसमा व्यापक छलफल हुन दिनुपर्छ भन्ने निर्णय गरेका हौं।’संसदमा टेबल भयो र मतदान गर्ने स्थिति आयो भने के गर्नुहुन्छ भन्ने प्रश्नमा उनले भनिन्, ‘ यस अगाडिको प्रक्रियाको निर्णय आवश्यकता अनुसार सचिवालयको बैठक बसेर गर्ने भन्ने सहमति भएको छ।’बैठकले एमसिसी यथावस्थामा पास गर्न नसकिने निष्कर्ष निकालेको उनले बताइन्।
‘एमसिसी संसदमा टेबल गर्न दिनुपर्छ, यसमा हाम्रा इस्यु छन्। हामी असंलग्न परराष्ट्र नीति, सेना वा सुरक्षा नीतिको अंग हुन सक्दैनौं। छिमेकी राष्ट्रको सुरक्षामा असर गर्ने कुनै काम गर्न दिन्नौं। आयोजनासँग जोडिएका रोजगारीका कुरालाई महत्व दिनुपर्छ,’ बैठकमा अध्यक्ष माधवकुमार नेपाललाई उद्धृत गर्दै उनले भनिन्, ‘लेखापरीक्षण, एमसिसीलाई मात्र आर्थिक सहायताका हिसाबले मात्रै स्वीकार गर्नसकिन्छ।’
प्रतिनिधिसभाका सदस्यहरूले एमसिसीबारे सबै राय र तर्क गर्न पाउनुपर्ने र त्यो अधिकार दिनुपर्ने निर्णय भएको उनले बताइन्।पार्टीले अमेरिकी सहयोग परियोजना एमसिसीको पक्षमा भने नउभिने निर्णय गरेको छ।बैठकले एमसिसीको पक्षमा नउभिने निर्णय भएको उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए।
थप निर्णय सचिवालयले गर्ने समेत उनले जानकारी दिए।‘संशोधनसहित संसदमा आए हामी फेरि छलफलमा जुट्ने छौं’, उनले भने।सत्ता गठबन्धनमा नै एमसिसी संसदमा टेबल गर्न हुने÷नहुने विवाद हुँदै आएको छ।नेपाली कांग्रेस एमसिसी टेबल गर्ने पक्षमा छ भने माओवादी केन्द्र र एकीकृत समाजवादी भने अहिले नै टेबल गर्न नहुने पक्षमा छन्।प्रधानमन्त्री शेरबहादुर देउवाले त शुक्रबारको संसदमै टेबल गर्ने मुड बनाएका थिए। तर बिहीबार साँझ बसेको सत्ता गठबन्धन बैठकले कुनै निष्कर्ष निकाल्न नसकेपछि शुक्रबार एमसिसी संसदमा टेबल हुन पाएन।यसअघि सत्ता साझेदार माओवादी केन्द्रको संसदीय दलको बैठकले एमसिसी टेबल भए गठबन्धनबाटै बाहिरिने निर्णय गरेको थियो।