काठमाडौं,नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विवाद समाधान गर्न गठित ६ सदस्यीय कार्यदलले एक साता लगाएर तयार पारेको प्रतिवेदन अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई बुझाइएको छ । प्रतिवेदनले पार्टी पद्धति र संस्थागत प्रणालीलाई सवल तुल्याउँदै अघि बढ्न सुझाव दिएको छ । शनिबार अध्यक्षद्वयलाई बुझाइएको प्रतिवेदन सर्वसम्मत तयार पारिएको कार्यदल सदस्य जनार्दन शर्माले जानकारी दिए ।
‘पार्टी पद्धति र संस्थागत प्रणालीलाई सवल तुल्याउन र पार्टी एकता बलियो बनाउने गरी प्रतिवेदन बनाएका छौँ । अब समस्याहरु समाधान हुन्छन् भन्ने विश्वास कार्यदलले लिएको छ’, कार्यदल सदस्य शर्माले भने । स्रोतका अनुसार प्रतिवेदनमा पार्टी एकतालाई आत्मसाथ गर्दै अघि बढ्ने, पद्धति र पार्टी एकताको महत्त्वलाई आत्मसात गर्ने तथा पद्धति र संस्थागत प्रणालीलाई सवल तुल्याउँदै पार्टी एकताका बाँकी काम सम्पन्न गर्ने विषय प्रतिवेदनमा उल्लेख छ ।
अर्का कार्यदल सदस्य भीम रावलले राजनीतिक तथा संगठनात्मक रुपमा गर्नुपर्ने काम गर्दै एकताको राष्ट्रिय माहाधिवेशन चैतमा गर्ने कार्यदलले सुझाव दिएको जानकारी दिए ।
त्यस्तै संसदीय दलको भूमिका प्रभावकारी बनाउने र प्रदेश र स्थानीय सरकारलाई समेत थप प्रभावकारी बनाउनुपर्ने सुझाव प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदनले नेपालको सीमा समस्या र समाधान सम्बन्धमा कुटनीतिक तथा राजनीतिक दुवै माध्यमबाट पहल गर्न सुझाव दिएको छ ।
कार्यदलको प्रतिवेदनमा प्रधानमन्त्री ओलीको राजीनामाको माग थाती राख्दै जारी स्थायी समिति बैठक एजेण्डामा छलफल गर्ने तथा अध्यक्षको कार्यविभाजनमा केपी ओलीले पुरै कार्यकाल (५ वर्ष) सरकार चलाउने र अर्का अध्यक्ष प्रचण्डले कार्यकारीसहित पार्टी सञ्चालन गर्ने उल्लेख छ । तर दुवै अध्यक्षको सल्लाहमा निर्णयहरु गरिने उल्लेख छ ।
बैठक जारी रहेका बेला अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेता माधवकुमार नेपाललगायतले ओलीको राजीनामा मागेपछि विवाद थप चर्किन पुगेको थियो । सोही विवादले पार्टी नै फुटको संघारमा पुगेपछि दुई अध्यक्षबीच कार्यदल गठन गरेर त्यसको सुझावका आधारमा निकास खोज्दै सहमतिमा अघि बढ्न ओली प्रचण्ड सहमत बनेका थिए ।
कार्यदल प्रतिवेदनका मुख्य अंश यस्ता छन्ः
१.पार्टी एकताको महत्त्वलाई आत्मसात गर्ने ।
२.पद्धति र संस्थागत प्रणालीलाई सवल तुल्याउने
३.कार्यविभाजन स्पस्ट पार्नुपर्ने
४.पार्टी एकताका बाँकी काम सम्पन्न गर्ने ।
५.राजनीतिक तथा संगठनात्मक रुपमा गर्नुपर्ने काम
६.एकताको राष्ट्रिय माहाधिवेशन चैतमा गर्ने
७.सरकारको काम कारवाही प्रभावकारी बनाउने
८.संसदीय दलको भूमिका प्रभावकारी बनाउने ।
९.प्रदेश र स्थानीय सरकारलाई थप प्रभावकारी बनाउने
१०.नेपालको सीमा समस्या र समाधान सम्बोधन गर्ने
११.कोभिड १९ को महामारी रोकथाम, नियन्त्रण र आर्थिक पुनरुत्थान
बाढीपहिरोबाट सिर्जित समस्याको सामनाको उपाय अवलम्बन गर्ने
१२.शान्ति प्रकृयाका बाँकी काम सम्पन्न गर्ने
१३. एमसीसीबारे राष्ट्रिय हितमा जोड