काठमाडाैँ,अढाई वर्षअघि संसदमा दर्ता भएको एमसिसी टेबुल गर्न गठबन्धनका दलहरू सहमत, यससँगै तत्कालका लागि सत्तागठबन्धन सुरक्षित, तर विवादित विषय परिमार्जन गर्नुपर्ने उनीहरूको अडान यथावत् रहेकाले एमसिसी अनुमोदन हुने–नहुने अझै अनिश्चित
सत्तागठबन्धनमा रहेका दलहरू पूर्ववत् अडानमा केही लचिलो देखिएपछि एमसिसी संसद्मा टेबुल हुने ढोका खुलेको छ । तर, विवादित विषय परिमार्जन गर्नुपर्ने उनीहरूका अडान भने यथावत् छन् । जसका कारण संसद्बाट एमसिसी तत्काल अनुमोदन हुने–नहुने अनिश्चितता भने कायमै छ । यही विषयमा छलफल गर्न आइतबार बिहान १० बजे सत्तागठबन्धनको बैठक बस्दै छ । त्यहाँ औपचारिक सहमति बने सम्भवतः आइतबारकै संसद् बैठकमा एमसिसी टेबुल हुनेछ ।
५० करोड अनुदान सहयोगको एमसिसी सम्झौता १६ फागुनभित्र संसद्बाट अनुमोदनका लागि अमेरिकाले कूटनीतिक दबाब दिइरहेको छ । ३० असार ०७६ मा तत्कालिन केपी ओली नेतृत्वको सरकारले एमसिसी अनुमोदनका लागि संसद् सचिवालयमा दर्ता गरेको थियो । तर, सम्झौताका विषयवस्तुलाई लिएर उत्पन्न विवादका कारण टेबुल हुन सकेको छैन ।
अमेरिकाले भन्यो– एमसिसीमा नेपालको सार्वभौम निर्णय
अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्झौता अनुमोदनको विषय नेपालको सार्वभौम निर्णय भएको स्पष्ट पारेको छ । शुक्रबार चीनले एमसिसीमा अमेरिकाले जबर्जस्ती कूटनीति सञ्चालन गरिरहेको आरोप लगाएको भोलिपल्ट अमेरिकाले यसको निर्णय सार्वभौम र लोकतान्त्रिक मुलुकले गर्नेसमेत उल्लेख गरेको छ । उसले चीनको नाम लिएको छैन । ‘नेपाली नेताहरूले एमसिसीको अनुमोदन गर्छन् या गर्दैनन् भन्ने निर्णय नेपालले गर्ने हो, एउटा सार्वभौम लोकतान्त्रिक मुलुकका रूपमा र यो केवल नेपालको निर्णय हो,’ अमेरिकी दूतावासद्वारा शनिबार साँझ जारी विज्ञप्तिमा भनिएको छ ।
११ः३० मा कार्य व्यवस्था, १ बजे संसद्
आइतबार बिहान सत्तागठबन्धनको बैठक बोलाइएको छ, त्यसलगत्तै कार्य व्यवस्था परामर्श समितिको बैठक छ । यी दुवै बैठकमा एमसिसी संसद्को कार्यसूची बनाउने सहमति भए आइतबार नै संसद्मा टेबुल गर्ने सम्भावना रहेको स्रोतको भनाइ छ । दिउँसो १ बजे संसद् बस्दै छ । त्यसअगाडि साढे ११ बजे सभामुख अग्नि सापकोटाले कार्य व्यवस्थाको बैठक बोलाएका छन् ।
‘उहाँले संसद् बैठकअगाडि बस्ने आइतबारका अरू दुई बैठक हेरेर कार्यसूची बनाउने–नबनाउने निर्णय लिनुहुन्छ होला,’ सभामुखनिकट स्रोतले भन्यो, ‘दलहरूबीच सहमति भए सभामुखले रोक्ने कुनै कारण छैन र मनसाय पनि होइन ।’ सभामुख सापकोटाले आफू संवैधानिक भूमिकाप्रति प्रतिबद्ध रहेको दोहो¥याउँदै आएका छन्, जसले उनी सरकारको ‘बिजनेस’ रोक्ने अडान नरहेको संकेत गरेको छ । सरकारको बिजनेस रोकेको भन्दै सभामुखको आलोचना पनि भएको छ । उनले राष्ट्रिय महत्वको विषयमा छलफल गर्ने वातावरण बनाउन आग्रह गर्दै आएका छन् ।
दबाब एमालेमाथि
गठबन्धनमा रहेका दलहरू एमसिसी संसद्मा टेबुल गर्न तयार भएपछि लगातार संसद् अवरोध गरिरहेको एमालेमाथि दबाब बढेको छ । सुरुमा एमसिसी अनुमोदनकै पक्षमा रहेका एमाले अध्यक्ष केपी ओलीले पहिला गठबन्धनको निर्णय आउनुपर्ने बताउँदै आएका थिए । गठबन्धन एमसिसी अगाडि बढाउन तयार भएपछि सदन खोल्ने वा अवरोध राख्ने भन्ने एमाले नयाँ निर्णयमा पुग्नुपर्नेछ । माधव नेपालसहितका १४ सांसदमाथि कारबाही सूचना टाँसमा सभामुखले ढिला गरेको विरोधमा एमालेले सदन अवरोध गर्दै आएको छ । नयाँ पत्रिकामा खवर छ ।