काठमाडौँ, विपक्षी दल नेकपा एमालेले अमेरिकाको मिलेनिमय च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताको विषयमा मौन रहे पनि पार्टी सदस्य भीम रावलले आइतबार प्रतिनिधि सभाको बैठकमा त्यसको विरोधमा आफ्नो धारणा राखेका छन् सभामुख अग्नीप्रसाद सापकोटाले बैठक सुरु गर्ने बित्तिकै एमालेका सांसदहरूले नाराबाजी सुरु गरे पनि रावललाई आफ्नो धारणा राख्न सभामुख सापकोटाले ५ मिनेटको समय छुट्याएका थिए ।
एमसीसीलाई राष्ट्रघाती सम्झौताको संज्ञा दिँदै नेता रावलले प्रश्न गरे‚ ‘यो सार्वभौम संसद्ले यस्तो राष्ट्रघाती सम्झौताको पक्षमा बोल्छ कि देशको पक्षमा बोल्छ ?’एमसीसी सम्झौता स्वतन्त्र परराष्ट्र नीति र नेपाली जनताको स्वाधीनताविरुद्ध भएको उनले बताए।
विपक्षी पार्टीले संसद्मा अवरोध गरिरहेको बेला संसद्ले उक्त सम्झौता टेबल गर्न नहुने भन्दै नेता रावलले भने‚ ‘विपक्षी पार्टीले विरोध गरिरहेका बेला टेबल कसरी हुन सक्छ ? यो विषय नेपालको स्वाधीनता‚ स्वाभिमान र आत्मनिर्णयसँग सम्बन्धित भएकाले यसमा राष्ट्रिय सहमति र नेपाली जनताको भावनाविपरीत टेबल गरिने कुरा आपत्तिजनक छ ।’यस्तो सम्झौता संसद्मा टेबल गर्नका लागि दुईतिहाई मत चाहिने र यदि सो नभए संघीय कानुनबमोजिम गर्नुपर्नेमा यस्ता कानुनलाई कुल्चिएर अगाडि बढ्नु आपत्तिजनक भएको नेता रावलले बताए ।