काठमाडौँ, नेकपा समाजवादी (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले सरकार एमसीसी पास गर्ने पक्षमा भए देश दुर्घटनातिर जाने चेतावनी दिएका छन् ।उनले नेकपा एमालेसँग सहमति गरेर एमसीसी पास गरेपछि मुलुकमा शान्ति कायम हुन्छ भन्ने सपना देख्नु कांग्रेसको दिवा सपना मात्र भएको जिकिर गरे । सम्मानित नेता खनालले एमसीसीका कारण अहिले समाज, राष्ट्र, राजनीतिक पार्टी र संसद् विभाजित बनिरहेको बताए ।
यस्तो बेलामा देशभित्र राष्ट्रिय सहमति खोजेर बाँकी सम्भावनालाई उजागर गर्न आवश्यक रहेको उनले औंल्याएका थिए । सांसद खनालले भने, ‘एमसीसी मुद्दाले हाम्रो देशको गठबन्धन सरकारभित्र विभाजन आयो । संसद्मा विभाजन आयो । राजनीतिक पार्टीहरूका बीचमा विभाजन आयो र आम जनताबीचमा समेत विभाजन आयो । यो गम्भीर सवाल हो । यो गम्भीर सवालमा कम से कम पनि नेपाल एकताबद्ध हुनुपर्छ । राष्ट्रिय सहमति हुनुपर्छ ।’
यस्तै सहमतिका सम्भावना खोज्नुपर्ने पनि उनको सुझाव थियो। ’जनता, देश जे सुकै होस् एमसीसी पास गर्नुपर्छ भन्ने लाइनमा जानुभयो भने देश अलि दुर्घटनातिर जान्छ । नेकपा एमालेसँग सहमति गरेर मुलुकमा शान्ति कायम होला भन्ने सपना देख्नुभएको छ भने यो दिउँसो आकाशतिर हेरेर देखेको सपना मात्रै हो । त्यो सपना नदेखे पनि हुन्छ,’ नेता खनालले भने ।