काठमाडौं, १७ वर्षीय किशोरीमाथि बलात्कार गरेको भन्दै तनहुँ प्रहरीमा किटानी जाहेरी दर्ता भएपछि फरार रहँदै आएका अभिनेता पल शाहले प्रहरीसामु आफैं उपस्थित हुने घोषणा गरेका छन् ।
आइतबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले सो घोषणा गरेका हुन् । आफ्नो स्वास्थ्य अवस्था बिग्रिएको र घरको सबै व्यवहार मिलाउनु परेकाले प्रहरीसामु उपस्थित हुन नसकेको भन्दै उनले माफीसमेत मागेका छन् ।
साथै आफ्नो फिल्म म यस्तो गीत गाउँछु २ गत शुक्रबारदेखि देशभरिका हलमा प्रदर्शन भएकाले फिल्मलाई असर नपरोस् भन्ने पक्षलाई ध्यानमा राखेको उनको भनाइ छ ।
‘नेपालको कानूनलाई सम्मान गर्दै प्रहरीसामु म आफैं आज उपस्थित हुने जानकारी सम्पूर्णमा दिन चाहन्छु,’ शाहले लेखेका छन्।