काठमाडौँ, बानेश्वरमा एमसीसी विरुद्धको प्रदर्शनमा प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रहार गरेको छ । प्रदर्शनकारीहरुलाई तितरबितर पार्न प्रहरीले अश्रुग्यास र पानीको फोहोरा छोडेको हो । भागाभाग हुँदा केही प्रदर्शनकारी घाइते समेत भएका छन् । संसद्मा एमसीसी टेबल भइसकेदेखि नै थालिएको एमसीसी विरुद्धको प्रदर्शनलाई राप्रपा र माओवादीका भ्रातृ संगठन लगायतले आइतबार पनि निरन्तरता दिएका थिए । आजै संसद्बाट एमसीसी अनुमोदन गर्ने तयारी भइरहेकाले बानेश्वर क्षेत्रको सुरक्षा पनि निकै बढाइएको थियाे । आइतबार बिहान बसेको सत्ता गठबन्धन बैठकले सैद्धान्तिक छलफलमाथि उठेका प्रश्नमा सरकारले जवाफ दिएपछि प्रतिनिधिसभामा दोस्रो बैठक राखेर पारित गर्ने तयारी भइरहेकाे छ ।
नेपाल कम्युनिस्ट पार्टीसहित ६ राजनीतिक दल र २ मोर्चाले आज विशाल प्रदर्शनसहित काठमाडौँमा संसद् भवन र देशैभर जिल्ला प्रशासन कार्यालय घेराउ गरिरहेका थिए ।


















