काठमाडौँ, पशुपतिनाथमा धुमधामका साथ महाशिवरात्रि मनाइँदै छ । महाशिवरात्रि पर्वका अवसरमा मंगलबार बिहानैदेखि चहलपहल बढेको छ । महाशिवरात्रि पर्वमा पशुपतिनाथ दर्शन गर्न हजारौंको संख्यामा दर्शनार्थी भेला भएका छन् ।महाशिवरात्रिकै लागि भनेर पशुपतिनाथ क्षेत्र झकिझकाउ पारिएको छ । नेपालकै विभिन्न स्थानसहित भारतबाटसमेत साधुसन्त आइपुगेका छन् । हिन्दूहरूले विभिन्न शिव मन्दिरहरू पुगेर आराधना, भजन–किर्तन गरेर र जाग्राम बसेर महाशिवरात्रि पर्व मनाउँछन् । प्रत्येक वर्ष फाल्गुन कृष्ण चतुर्दशीको रातलाई शिवरात्रि भनी श्री शिवको ज्योतिर्लिङ्ग उत्पन्न भएको रातको रुपमा मनाउने परम्परा छ । यस रातलाई हिन्दू धर्मावलम्बीहरु मानवआत्माले मोक्ष प्राप्त गरेको रातका रुपमा लिने गर्छन् ।


















