काठमाडौँ, गृहमन्त्री बालकृष्ण खाँणले मिलेनियम च्यालेञ्ज कर्पोरेसन(एमसीसी) सँगको अनुदान सम्झौता राष्ट्रको समृद्धि र विकासका लागि प्रतिनिधिसभाबाट पास गरिएको बताएका छन् ।नेपाल निजामती कर्मचारी संगठन गृहविभागीय १२ औं अधिवेशनको सोमबार गृह मन्त्रालयमा उद्घाटन गर्दै गृहमन्त्री खाँणले एमसीसी पास भएका कारण कुनै विदेशी सेना नेपालमा नआउने बताए । ‘एमसीसी हामीले राष्ट्रको समृद्धि र विकासका लागि प्रतिनिधि सभाबाट पारित गरेका हौँ । एमसीसी पास भएका कारण कुनै विदेशी सेना नेपालमा आउन्न,’ गृहमन्त्री खाँणले भने ।
एमसीसीले विद्युतमा विकास, गरिबी निवारण र भौतिक विकासमा सहयोग गर्ने उनको भनाइ थियो । अहिले एमसीसीले दिएको सहयोगको ठूलो हिस्सा विद्युतको ट्रान्समिसन लाइन निर्माणमा र केही सड्क निर्माणमा प्रयोग गरिने गृहमन्त्री खाँणले बताए ।उनले विद्युत्को तारबाट विद्युत् आउने, विदेशी सेना नआउने बताए । ‘विद्युत्को तारबाट विद्युत् आउँछ, सेना आउँदैन,’ गृहमन्त्री खाँणले भने, ‘राष्ट्रियतालाई सबल बनाउन एमसीसी ल्याइएको हो ।’
गृहमन्त्री खाँणले नेपालमा उत्पादित विद्युत् खपतका लागि आवश्यक ट्रान्समिसन लाइन एमसीसीमार्फत आउने सहयोगबाट निर्माण हुने बताए । एमसीसी पास भएपछि अन्तर्राष्ट्रिय विश्वसनियता कायम हुने र दातृ निकायले भरोसा कायम गर्ने वातावरण निर्माण भएको उनको भनाइ थियाे ।एमसीसी ऋण नभई अनुदान भएको बताउँदै उनले आयोजनामा काम गर्न अमेरिकी कामदार आउने भन्ने प्रचार भ्रममात्रै भएको बताए । ‘एमसीसी ऋण होइन, अनुदान हो,’ गृहमन्त्री खाँणले भने, ‘आयोजनामा नेपालीले नै काम गर्ने हो, अमेरिकी कामदार आउँदैनन् ।’