काठमाडौँ, भ्रष्टाचारविरोधी आन्दोलनबाट भारतको राजधानी दिल्लीमा सरकार बनाउन सफल भएको आम आदमी पार्टी(आप) ले पञ्जाब विधानसभा चुनावमा ठूलो सफलता हात पार्ने निश्चित भएको छ । फेब्रुअरी २० मा भएको विधानसभा चुनावको नतिजा बिहीबार बिहानदेखि आउन सुरु भएको हो ।
हालसम्म प्राप्त नतिजा अनुसार ११७ सिट रहेको पञ्जाब विधानसभामा आपले झन्डै दुई तिहाई मत प्राप्त गर्ने देखिन्छ । १ सय १७ सिट रहेको पञ्जाबमा सरकार बनाउन ५९ सिट आवश्यक पर्ने भए पनि आपले करिब ९० सिटमा जित हात पार्ने निश्चितजस्तै देखिएको छ । सरकार बन्ने निश्चित भएसँगै पञ्जाबका विभिन्न ठाउँमा ’बल्ले बल्ले’ शैलीमा आप समर्थकले खुसियाली मनाइरहेका छन् ।
अघिल्लो चुनावमा आपले २० सिट जितेर प्रतिपक्षी दलको स्थान लिएको थियो । दिल्ली नजिकैको पञ्जाबमा सत्तामा आउन मुख्यमन्त्री अरविन्द केजरीवाल अघिल्लै चुनावदेखि प्रयासरत थिए। तर सन् २०१७ को चुनावमा उनको दलले अपेक्षाकृत जित भने हासिल गर्न सकेन ।त्यतिबेला दिल्लीमा आपले सरकार चलाएको दुई वर्षमात्रै भएको थियो । र, अहिले ७ वर्ष सरकार चलाइसकेका केजरीवालले ‘दिल्ली मोडल’ को प्रचार पञ्जाबमा गरेका थिए । दिल्लीमा आप नेतृत्वको सरकारले शिक्षा, स्वास्थ्य र सार्वजनिक यातायातका क्षेत्रमा उल्लेख्य सुधारका काम गरेको छ ।
आम आदमीले यसपटक लोकसभा सदस्य भगवन्त मानलाई मुख्यमन्त्रीको उम्मेदवारका रूपमा उठाएको छ । डिजिटल प्लेटफर्मको सुरुवात हुनुभन्दा पहिले नै भगवन्त मान पन्जाबका घरघरमा सुनिएका र रुचाइएका पात्र हुन् । राजनीतिक व्यंग्यका लागि उनी निकै परिचित छन् । लोकसभा बैठकमा समेत उनका प्रस्तुति रोचक हुने गर्छ । उनले सन् २०११ मा पिपल्स पार्टी अफ पन्जाबबाट राजनीतिक यात्रा सुरु गरेका हुन् । तर सन् २०१४ मा भारतमा राष्ट्रिय रूपमा नरेन्द्र मोदीको लहर र दिल्लीमा आम आदमी पार्टी उदाइरहेका बेला मानले पार्टी परिवर्तन गरेका थिए ।
२०१४ को लोकसभा चुनावमा उनी संगरुर विधानसभा क्षेत्रबाट प्रतिस्पर्धा गरेका थिए । कांग्रेस र अकाली दलका उम्मेदवारसँगको प्रतिस्पर्धामा उनी २ लाख बढी मतान्तरले विजयी भएका थिए । उनी सन् २०१९ मा पनि सोही सिटबाट नै लोकसभा सदस्यमा निर्वाचित भएका हुन् । उनी पन्जाबमा आम आदमी पार्टीका सबैभन्दा प्रभावशाली नेताका रूपमा चिनिन्छन् ।भारतमा ५ राज्यमा विभिन्न चरणमा भएको विधानसभा चुनावको सुरुवाति मतपरिणाम आउन थालेको छ । अहिलेसम्मको मतपरिणाम अनुसार ४ राज्यमा भारतीय जनता पार्टी(बीजेपी) र एउटामा आम आदमी पार्टीले सरकार बनाउने देखिएको छ४०३ सिट रहेको उत्तरप्रदेश विधानसभासहित गोवा, मणिपुर र उत्तराखण्डमा बीजेपी अगाडि रहेको छ । त्यस्तै दिल्लीबाहिर सरकार बनाउन लागि परेको आम आदमी पार्टीलाई पञ्जाबमा सफलता मिल्न सक्ने देखिएको छ ।