संखुवासभामा ७५ वर्षीयालाई वृद्धभत्ताका लागि कार्ड बनाइदिने आश्वासनमा झुक्याएर मालपोत पु¥याई करोडौँको २७ रोपनी जग्गा वडाध्यक्षसहित तीनजनाले हत्याएका छन् । भोटखोला गाउँपालिका– ४ सिप्रङकी बिममाया तामाङको जग्गा किर्ते गरी वडाध्यक्ष किङसाङ भोटे, खाँदबारी मालपोत कार्यालयका नायब सुब्बा महेन्द्रकुमार पराजुली र बिममायाका भदा पर्ने सुरेन्द्र तामाङले परिवार तथा आफन्तको नाममा पास गराएका हुन् ।
संखुवासभाका डिएसपी लालध्वज सुवेदी भन्छन्
गाउँकी सोझी निरक्षर वृद्धा, त्यसमाथि आँखा कम देख्ने र कान पनि कम सुन्ने बिममाया तामाङलाई वृद्धभत्ताका लागि कार्ड बनाउनुपर्छ भनेर भदा पर्ने सुरेन्द्र तामाङले खाँदबारी मालपोत कार्यालय लगेको भेटियो । वडाध्यक्ष, मालपोतका कर्मचारीलगायतको मिलेमतोमा जग्गा नै हत्याएछन् । यसमा भूमाफियाको गिरोह नै लागेको अनुमान गरेका छौँ, अनुसन्धान जारी छ ।
वडाध्यक्ष किङसाङले निकटस्थ कल्पना भोटे, नासु महेन्द्रकुमारले श्रीमती कविता पराजुली र सुरेन्द्रले पनि श्रीमती ङिमा लाजुङ भोटेको नाममा पास गराएको खुलेको छ । सुरुमा २ फागुनमा जग्गा पास गर्दा नासु महेन्द्रले खाँदबारीस्थित आफ्नै घरमा बस्ने पासाङ शेर्पाको नाममा राखेका थिए । तर, दुई सातापछि १६ फागुनमा पासाङबाट श्रीमती कविताको नाममा सारेका थिए ।
बिममायाको उक्त जग्गा निर्माणको चरणमा रहेको १,०६८ मेगावाटको अपर अरुण जलविद्युत् आयोजनास्थलमा पर्छ । सर्भे भइसकेको उक्त जग्गाको मुआब्जा खाने लोभमा हत्याएको देखिन्छ । उनीहरूले बिममायाको नाममा रहेको कित्ता नम्बर १००, २७४, २७५, २८०, २९२ र ३४८ मध्ये मुआब्जा पाउने दुईवटा कित्ता नम्बर २७५ र २८० मात्रै रजिस्ट्रेसन पास गरेका छन् । सरकार आफैँले निर्माण गर्ने आयोजनाले मुआब्जाको दररेट निर्धारण गरिसकेको छैन । तर, स्थानीयले आयोजनासँग प्रतिरोपनी १० देखि १५ लाख रुपैयाँ पाउनुपर्ने माग गर्दै आएका छन् । प्रतिरोपनी १० लाखका दरले मुआब्जा तोकिए उक्त जग्गाको दुई करोड ७० लाख र १५ लाख तोकिए चार करोड पाँच लाख आउँछ । यसअनुसार मूल्यांकन गर्दा उक्त जग्गाको औसतमा तीन करोड मुआब्जा आउने देखिन्छ ।
जग्गा किर्ते गरी झुक्याएर पास गर्ने कार्यमा संलग्न सातजनालाई जिल्ला प्रहरी कार्यालय संखुवासभाले शनिबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ । वडाध्यक्ष किङसाङ भोटे, सुब्बा महेन्द्रकुमार पराजुली र ३० वर्षीय सुरेन्द्र तामाङसहित २१ वर्षीया कल्पना भोटे, २० वर्षीया ङिमा लाजुङ भोटे, चैनपुरका ३५ वर्षीय पासाङ शेर्पा र खाँदबारी मालपोतका लेखापढी व्यवसायी अनिश गुरुङ पक्राउ परेका हुन् । उनीहरूलाई अदालतमा म्याद थप गरेर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी लालध्वज सुवेदीले बताए ।
‘गाउँकी सोझी निरक्षर वृद्धा, त्यसमाथि आँखा कम देख्ने र कान पनि कम सुन्ने बिममाया तामाङलाई वृद्धभत्ताका लागि कार्ड बनाउनुपर्छ भनेर भदा पर्ने सुरेन्द्र तामाङले खाँदबारी मालपोत कार्यालय लगेको भेटियो । वडाध्यक्ष, मालपोतका कर्मचारीलगायतको मिलेमतोमा जग्गा नै हत्याएछन्,’ डिएपी सुवेदीले भने, ‘यसमा भूमाफियाको गिरोह नै लागेको अनुमान गरेका छौँ, अनुसन्धान जारी छ ।’ प्रचलित कानुनअनुसार जग्गा किर्ते र ठगीकाण्डमा २५ दिनसम्म हिरासतमा राखेर अनुसन्धान हुन्छ ।
प्रहरीका अनुसार सुरेन्द्रले जग्गा पास गर्न वडा कार्यालयमा सिफारिस लिन जाँदा वडाध्यक्ष किङसाङ भोटेसँग सल्लाह गरेको र सोहीअनुसार मालपोत कार्यालयबाट पास गर्न पुरानै चिनजानका कर्मचारी महेन्द्रकुमार पराजुलीसँग योजना बनाई कसैले थाहै नपाउने गरी जग्गा पास गरेको अनुसन्धानमा खुलेको छ ।