spot_img

कर्णालीमा कोरोनाले निम्त्याउँदै खाद्य संकट,भाेकमरी लाग्ने त्रास बढ्दै

spot_img

काठमाडाैँ,विगतका वर्षहरूमा भदौसम्म मौज्दात हुने कर्णालीका खाद्य डिपोहरू यो वर्ष साउनमै रित्तिएका छन्। लकडाउनको अवधिमा करिब ६३ हजार नागरिक कर्णाली भित्रिएकाले पनि खाद्यान्नको माग बढीरहेकाे छ । लामो समयको लकडाउन र सडक अवरुद्ध हुँदा खाद्यान्न ढुवानी हुन नसकेको मु्गुस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका प्रबन्धक कर्णबहादुर रावलकाे भनाइ छ ।  उनका अनुसार जिल्लाभरिका खाद्य डिपोमा खाद्यान्न मौज्दात नभएपछि खाद्य सुरक्षा समितिले तत्काल ६ हजार क्विन्टल खाद्यान्न माग गरेको छ । समितिको बैठकले छायानाथरारा नगरपालिकामा २ हजार, सोरुमा १५ सय, खत्याडमा १५ सय र मुगुमकार्मारोङ गाउँपालिकामा १ हजार क्विन्टल खाद्यान्न तत्काल उपलब्ध गराउन माग गरेको छ । ‘वर्षाका कारण कर्णाली राजमार्ग धेरै ठाउँमा अवरुद्ध छ,’ उनले भने, ‘त्यसैले हामीले हवाईमार्गबाटै खाद्यान्न ढुवानीको माग गरेका छौं ।’ कम्पनीको शाखा कार्यालयमा आपत्कालीन अवस्थाका लागि ५ सय क्विन्टल चामल मौज्दात राखिएको उनले बताए ।

खाद्यान्नको मौज्दात नभएपछि मुगुमा कम्पनीले गत साउन २८ गतेबाट खाद्यान्न वितरण बन्द गरेको छ । गत वर्ष शाखा कार्यालयका लागि १० हजार क्विन्टल माग गरिएकोमा ९ हजार २ सय मात्र ढुवानी भएको थियो । सोरुमा २ हजार २ सय, पुलुमा १ हजार २ सय, कालैमा ४ हजार २ सय र श्रीकोटमा १ हजार २ सय क्विन्टल खाद्यान्न ढुवानी गरिएकोमा सबै चामल गत वर्ष सकिएको थियो । रातापानी डिपोमा ८ सय क्विन्टल माग भएकोमा १ सय ७१ क्विन्टल मात्र ढुवानी भयो ।

खाद्यान्न संकट हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै खाद्य व्यवस्था समिति हुम्लाले पनि जिल्लाभरिका लागि ७३ हजार क्विन्टल चामल माग गरेको छ । सिमकोट शाखाका लागि ३५ हजार, श्रीनगरका लागि ६ हजार, सर्केगाडका ८ हजार तथा देउली, छत्रेला, याल्बम र याङचुमा ६र६ हजार क्विन्टल खाद्यान्न माग गरिएको शाखा प्रबन्धक रामबहादुर विष्टले बताए । गत वर्ष जिल्लामा ५७ हजार क्विन्टल खाद्यान्नको कोटा रहेकोमा ३१ हजार ५८ क्विन्टल मात्र ढुवानी भएको थियो । सिमकोटका लागि ३० हजार क्विन्टल माग गरेकोमा २३ हजार ३ सय क्विन्टल मात्र चामल आएको विष्टको भनाइ छ । उनका अनुसार हुम्लामा कोटाअनुसारको चामल कहिल्यै आउँदैन ।

बाढीपहिरोपीडितलाई अभाव

बाढीपहिरोका कारण विस्थापित जाजरकोट बारेकोटका बासिन्दाले पनि अहिले खाद्य समस्या झेलिरहेका छन् । बारेकोटको नायकवाडा डिपोमा अहिले १० क्विन्टल मात्रै खाद्यान्न मौज्दात छ । जाजरकोट शाखा कार्यालयमा भने १ हजार ७ सय २७ क्विन्टल चामल मौज्दात रहेको कार्यालयका वरिष्ठ सहायक रामप्रसाद पौडेलले बताए । ‘उत्पादन कम हुने ठाउँमा समयमै चामल नआउँदा हामीले गाली खानुपरेको छ,’ उनले भने, ‘भारतबाट फर्किएका नागरिकका कारण ग्रामीण क्षेत्रमा खाद्यान्नको माग बढिरहेको छ ।’

कर्णालीमा हरेक वर्ष विशेष गरी असार, साउन, भदौ र असोज महिनामा खाद्यान्न अभाव हुने गरेको छ । वर्षाका कारण विभिन्न ठाउँमा बाढीपहिरो जाँदा सडक अवरुद्ध भएपछि ढुवानीमा समस्या भएको कम्पनीको सुर्खेत कार्यालयका प्रबन्धक भीमबहादुर थापाले बताए । उनका अनुसार सुर्खेतमा १० हजार ५ सय क्विन्टल खाद्यान्न मौज्दात छ । ‘माग भएका स्थानमा सडक खुल्नासाथ चामल पठाउँछौं,’ उनले भने, ‘सडकले गर्दा मात्रै समस्या भएको हो, नेपालगन्जबाट पनि २० हजार क्विन्टल चामल आपूर्ति हुँदै छ ।’ हवाईमार्गबाट पठाउन प्रक्रिया लामो अपनाउनुपर्ने भएकाले अभाव देखिएका ठाउँमा खाद्यान्न ढुवानी गर्न करिब एक महिना लाग्ने उनले बताए ।

सरकारको ५० करोड

चालु आर्थिक वर्षका लागि खाद्यान्न ढुवानी गर्न टेन्डर प्रक्रिया थालिएको कम्पनीको सुर्खेत कार्यालयले जनाएको छ । अहिले कालीकोटमा १ हजार १ सय ६२, डोल्पामा १ हजार ४ सय ४९, दैलेखमा १ हजार ४ सय ३ र रुकुम पश्चिममा ४ सय ६० क्विन्टल खाद्यान्न मौज्दात छ । बर्सेनि हुने खाद्य अभावलाई मध्यनजर गर्दै कर्णाली सरकारले चालु आर्थिक वर्षमा ५० करोड बजेट छुट्याएको छ ।

खाद्यान्न खरिदका लागि ४५ करोड र ढुवानीका लागि ५ करोड बजेट छुट्याइएको उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले बताए । उनका अनुसार गत वर्ष पनि प्रदेश सरकारले २ हजार क्विन्टल खाद्यान्न खरिद गरी सबै जिल्लामा पठाएको थियो । तर उक्त खाद्यान्न सदरमुकाममै थन्किएको छ । कान्तिपुर दैनिकमा खवर छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img