काठमाडाैँ, गृहमन्त्री बालकृष्ण खाणले संसदबाट पारित एमसिसीको पक्षमा बोलिदिन उपभोक्ता अधिकारकर्मीहरुलाई आग्रह गरेका छन्। विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री खाणले उपभोक्ता हितकै लागि सरकारले एमसिसी संसदबाट पारित गराएकाले त्यसको पक्षमा बोलिदिन आग्रह गरेका हुन्।
प्रेस फ्रिडम, मानव अधिकारको रक्षा र निर्वाचनको माध्यमबाट सरकार बनाउने मुलुकले मात्रै एमसिसी परियोजना प्रस्ताव गर्न पाउने भएकाले त्यसले देश र जनताको हित नहुने भन्ने प्रश्नै नउठ्ने उनको तर्क छ। एमसिसी परियोजना घरघरमा विजुली पु¥याउनका लागि ट्रान्समिसन लाईन बनाउने परियोजना भएको भन्दै गृहमन्त्री खाँणले त्यसमा कसरी राष्ट्रघात भयो भन्दै प्रश्न गरे। उनले केही व्यक्तिले एमसिसी आए अमेरिकी सेना र गोलाबारुद्ध आउने आशंका गरेकोमासमेत आपत्ति जनाए।
‘तीन वर्ष भयो, यो एग्रिमेन्ट भएको। त्यतिखेरैबाट बनाउन सुरु भएको भए यतिखेरसम्म आधा त बनिसक्थ्यो नि। अव अहिले बल्ल तीन वर्ष पछि पो पास गरेका छौं। त्यतापट्टि पनि म उपभोक्ताज्यूहरुलाई ध्यानाकर्षण गराउन चाहन्छु। हामी सबै नेपालका नागरिकहरु राष्ट्रवादी हौं। नेपाल रहे, हामी नेपाली रहन्छौं। हामी सबै नेपाली रह्यौं भने नेपाल जोगाउन सक्छौं। अब एउटा सानोसानो ईस्यूले राष्ट्रवादी व्याख्यात्मक घोषणा थप गर्ने वित्तिकै राष्ट्रवादी। उता, माईतीघरमा विरोध प्रर्दशन। तपाईहरुले सरकारलाई धन्यवाद दिनुपर्ने हो, त्यो पनि उपभोक्ता अधिकार भित्रकै कुरा हो। बाटो बिगारेको छ, ढुंगो र इँटाले हानेको छ। ५० जना प्रहरी घाईते भएका छन्। एमसीसी पास गरेर सरकारले राम्रै ग¥यो भनिदिनु प¥यो नि,’ उनले भने।