काठमाडौँ,सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा जनताको बहुदलीय जनवाद ( जबज ) को धेरै वकालत गर्नेमध्येका नेता हुन्– उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेल । स्थायी समिति सदस्य तथा नेकपाको स्कुल विभाग प्रमुखसमेत रहेका पोखरेल तिनै हुन् जो केपी ओली नेतृत्वको सरकारका मन्त्रीमध्ये विवादमा परिरहनेमा पर्दछन् ।
कोरोना महामारी नियन्त्रणका लागि गठन भएको कोभिड–१९ क्राइसिस मेनेजमेन्ट सेन्टर (सीसीएमसी)का संयोजक समेत रहेका पोखरेलका गतिविधि र निर्णय एकपछि अर्को विवादित बन्ने गरेका छन् । कोरोना नियन्त्रणका लागि औषधि उपकरण खरिद गर्ने विषयमा होस् वा सेनालाई लकिरका फकिर भन्दै उछितो काढेको विषयले नै किन नहोस् पोखरेल विवादबाट टाढा हुन सकेका छैनन् ।
फास्ट ट्रयाक निर्माणका सन्दर्भमा आफ्नाले ठेक्का नपाएको झोँकमा पोखरेलले एक औपचारिक कार्यक्रममै सेनालाई दोषी देखाएका थिए । त्यसले सेना र रक्षामन्त्री बीचको सम्बन्धमै दरार आएको थियो । पछि मन्त्रालयले यसबारे विज्ञप्ति नै निकालेर उक्त समाचारको खण्डन गर्नुपरेको थियो । पछिल्लो पटक पोखरेलले आफ्नै सम्धी उपेन्द्र कोइरालालाई राष्ट्रिय वाणिज्य बैङ्कको अध्यक्ष नियुक्ति गर्ने भएसँगै पोखरेललाई सामाजिक सञ्जाल प्रयोगकर्ता र नेकपाकै नेता कार्यकर्ताले जबजसँग तुलना गर्दै उनको धज्जी उडाएका छन् ।
सामाजिक सञ्जाल फेसबुक प्रयोगकर्ता नरेश न्यौपानेले त मङ्गलबार आफ्नो फेसबुक वालमा पोखरेललाई व्यङ्ग्य गर्दै लेखेका छन्, ‘जबजको स्प्रिटमा स्कुल विभागको नेतृत्वले सम्धीलाई ७औँ पटक नियुक्ति दियो । केको आपत्ति ?’
न्यौपानेले त्यति मात्रै लेखेका छैनन्, उनले पोखरेलले २०५१ सालदेखि अहिलेसम्म खाएका नियुक्तिको नालीबेली नै पोस्ट गरेका छन् ।
यस्तो छ पोखरेलको नियुक्तिको नालीबेलीः
१. २०५१ सालको एमाले सरकारको पालामा खाद्य संस्थानको महाप्रबन्धक ।
२. कार्यकाल सकिएलगत्तै विराटनगरको एक स्नातकोत्तर क्याम्पसको प्रमुख ।
३. २०६१ मा जबजवादी स्कुल विभागको नेतृत्व उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री हुँदा आयल निगमको कार्यकारी अध्यक्ष ।
४. निगमको कार्यकारीको कार्यकाल सकिएपछि केही समय खाली बस्नु परे पनि त्यसपछि उच्च माध्यमिक शिक्षा परिषद्को उपाध्यक्षमा नियुक्त ।
५. उच्च मावि शिक्षा परिषदको उपाध्यक्षबाट निवृत्त भएपछि राजेन्द्र खेतानको लक्ष्मी बैङ्कको अध्यक्ष ।
६. त्यसपछि मध्यपश्चिमाञ्चल विश्वविद्यालयको उपकुलपतिमा नियुक्ति ।
७. उपकुलपतिको कार्यकाल सकिएको केही महिनामै राष्ट्रिय वाणिज्य बैङ्कको सदस्य नियुक्त गरेर अध्यक्ष बनाइँदै ।

















