प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीहरु समेत हेरफेर हुनसक्ने
काठमाडौं, सत्तारुढ नेकपाभित्र नयाँ मन्त्री चयनको दौडधुप सुरु भएको छ । आगामी शनिबार बस्न लागेको सचिवालय बैठकमा मन्त्रीहरुको टुंगो लाग्ने सम्भावना रहेको एक नेताले बताए ।
आगामी २० गतेबाट अर्थमन्त्री डा.युवराज खतिवडाको कार्यकाल सकिदैछ । उनको राष्ट्रियसभाको कार्यकाल सकिएको र सांसद नभएको व्यक्ति ६ महिनासम्म मात्र मन्त्री हुनसक्ने संवैधानिक प्रावधान छ । जसअनुसार २० गते सांसद पदबाट अवकाश पाएको ६ महिना पुग्दैछ । अर्थ मन्त्रीसहित अन्य मन्त्रीहरु समेत हेरफेर गर्न लागिएको छ । सञ्चार र सहरी विकास मन्त्रालय पहिलेदेखि नै रिक्त छ ।
गृहमन्त्री रामबहादुर थापा समेत रेडजोनमा रहेको स्रोत बताउँछ । पछिल्लो समय उनी विवादमा पर्दै आएका छन् भने साथै प्रचण्डसँग पनि उनको दुरी बढेको छ । त्यस्तै भूमिसुधार मन्त्री पद्मा अर्याल पनि हेरफेर हुने सूचिमा पर्ने जोखिम छ । कामको हिसाबले खानेपानी मन्त्री बिना मगर पहिले नै हट्नुपर्ने भएपनि प्रचण्डकै बुहारी भएकाले उनलाई हटाइएन । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले राम्रै काम गरेको भएपनि भाग पु¥याउन उनलाई पनि हटाउने सम्भावना रहेको स्रोत बताउँछ ।
नेकपाबाट सुरेन्द्र पाण्डे मन्त्री बन्ने पक्का छ । उनी अर्थमन्त्री हुने सम्भावना छ । अर्थमन्त्री नभए अन्य मन्त्रालयमा नजाने उनले बताएका छन् । त्यस्तै भिम रावलको समेत नाम मन्त्रीमा चर्चा भएपनि उनले आफु सरकारमा जान लालायित नभएको प्रतिक्रिया दिएका छन् । तत्कालिन माओवादीबाट जनार्दन शर्मा पहिलेदेखि नै खुट्टा उचालेर बसेका छन् । बादललाई हटाएर गृहमन्त्री हुने उनको योजना छ । पम्फा भुषालको नाम पनि चर्चामा छ ।
त्यस्तै सांसद अपहरणकाण्डमा जोडिएका सांसदद्वय महेश बस्नेत र किसन श्रेष्ठ समेत लबिङमा लागेका छन् । पार्टीमा पछिल्लो पटक बढेको विवाद समाधानका लागि महासचिव विष्णु पौडेलको अध्यक्षतामा गठन भएको कार्यदलले मन्त्रीपरिषद् पुनर्गठनको कुरा समेत छ । सोही अनुसार सबै पक्षका नेताहरुलाई मिलाएर मन्त्रिपरिषद् हेरफेर गर्न लागिएको छ । प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रीहरु समेत हेरफेर हुने सम्भावना छ ।
स्रोेतका अनुसार २ वर्ष मन्त्री भैसकेका र राम्रो परफमेन्स देखाउन नसकेका झण्डै सातदेखि १० जना मन्त्री परिवर्तन हुने सम्भावना छ । तिनका स्थानमा भीम रावल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा, पम्फा भुषाल, देवेन्द्र पौडेल लगायतलाई मौका दिने गरी ओली प्रचण्डबीच लगभग सहमति भएको बुझिएको छ ।
नेकपा नेताहरुका अनुसार हालका इश्वर पाेखरेल, मन्त्री प्रदीप ज्ञवाली, योगेश भट्टराई, घनश्याम भुषाल, वर्षमान पुन, शक्ति बस्नेत भने फेरवदलका क्रममा पनि रहिरहने सूचीमा पर्नेछन् । त्यस्तै प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल र ५ का शंकर पोखरेलको ठाउँमा नयाँ मुख्यमन्त्रीको खोजी हुन थालेको छ । त्यस्तै नेकपाका प्रवक्ता समेत रहेका नारायणकाजी श्रेष्ठले उपप्रधानमन्त्री सहित कुनै एक महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी पाउने सम्भावना रहेको छ ।