धनगढी, कैलालीमा घरबाट बेपत्ता भएका एक व्यक्ति मृत फेला परेका छन् ।चुरे गाउँपालिका–१ निगालीका ५२ वर्षीय यज्ञबहादुर बोहरा स्थानीय जंगलको भिरमा मृत भेटिएको प्रहरीले जनाएको छ ।इलाका प्रहरी कार्यालय मालाखेतीका डीएसपी हिरा सिंह महराले घरबाट हराएका बोहरा खोजी गर्ने क्रममा बोहरा चुरे गाउँपालिका–१ तुलिखेतस्थित जंगलको भिरमा मृत अवस्थामा फेला परेको जानकारी दिए ।
उनकाअनुसार घटनाअघि बोहरासहित ८ जना एकै ठाउँमा बसेर मदिरा सेवन गरेको खुलेको छ ।सोही क्रममा साथमा रहेका व्यक्तिहरूले बोहरालाई ‘मारिदिन्छु’ भन्दै गरेको भिडियोसमेत फेला परेको प्रहरीले जनाएको छ ।
नियन्त्रणमा लिएका व्यक्तिहरूको पहिचान प्रहरीले खुलाएको छैन ।उनीहरूलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय मालाखेती ल्याइँदै गरिएको प्रहरीले जनाएको छ ।
घटनास्थलबाट मृतकको टोपी, मोबाइल र चप्पलसमेत फेला परेको छ ।घटनाबारे थप अनुसन्धान भइरहेको र विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।