नेपालगञ्ज, बाँके क्षेत्र नम्बर २ का सांसदसमेत रहेका तथा पूर्वमन्त्री मोहम्मद ईश्तियाक राईले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गतका तीनवटा योजनाको रकम भेरी अस्पताललाई प्रदान गरेका छन्।
कोभिड १९ को महामारीका कारणले स्थानीय विकास पुर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत क्षेत्र नम्बर २ मा छनोट गरिएका तीनवटा योजनाको ठेक्का समेत हुन नसकेकोपछि तीनवटै योजनाको डेढ करोड रुपैयाँ भेरी अस्पताललाई दिने निर्णय गरेका हुन्।
स्थानीय पूर्वाधार साझेदारी कार्यक्रम अन्तर्गत ठेक्का सम्झौता नभएका योजनाहरुको रकम असार १५ गतेदेखि फ्रीज गर्ने निर्णय सरकारले गरेकोले सो रकम फ्रीज हुनुभन्दा पहिलेनै योजना संशोधन गरेर डेढ करोड रुपैयाँ कोभिड १९ विरुद्ध तयारीका लागि भेरी अस्पताललाई भेन्टिलेटर लगायतका उपकरण खरिद गर्न प्रदान गरिएको पूर्वमन्त्री राईले जानकारी दिए।
क्षेत्र नम्बर २ का सांसद राईको संयोजकत्वमा आइतवार बसेको स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम निर्देशक समितीको बैठकले नेपालगञ्ज उपमहानगर २१ विर्ता गाउँको कर्बला कब्रस्तान र मदरसाको भौतिक पूर्वाधार निर्माण योजना, डुडुवा(६ को बाल सुधार गृहको स्तरोन्नतीका साथै नेपाल प्रहरी अस्पताललाई एम्बुलेन्स खरिद योजना र डुडुवा(३ कै आस्ताना र मदरसा स्तरोन्नती योजनाको हालसम्म ठेक्का समेत हुन नसकेकोले ती योजनालाई संशोधन गरेर तिनको रकमलाई भेरी अस्पताललाई दिने निर्णय गरेको हो।